
काठमाडौं । अखिल नेपाल किसान महासंघले कोदो उत्पादक किसानको अधिकार र न्यूनतम समर्थन मूल्य सुनिश्चित गर्न माग गरेको छ । महासंघले दोस्रो राष्ट्रिय कोदो दिवस (२०८३) को अवसरमा दिवसलाई केवल औपचारिक कार्यक्रम, सभा, भाषण र प्रचारमा सीमित नराखी कोदो उत्पादन गर्ने किसानको अधिकार सुनिश्चित गर्न माग गरेको हो ।
महासंघका संयोजक चित्रबहादुर श्रेष्ठ र सहसंयोजक रामकुमार ज्ञवालीद्वारा संयुक्त रुपमा जारी शुभकामना सन्देशमा किसानको जीवन, जीविका, आय, अधिकार र भविष्य सुरक्षित गर्ने ठोस नीति तथा कार्यक्रममार्फत कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ ।
महासंघले जारी गरेको शुभकामना सन्देशमा कोदो नेपालको पहाडी तथा हिमाली कृषि प्रणालीको अभिन्न हिस्सा भएको उल्लेख गरिएको छ। पुस्तौँदेखि किसानहरूले स्थानीय हावापानी र भूगोलअनुकूल कोदोका बिउ छनोट, संरक्षण र विकास गर्दै आएको तथा विशेषगरी महिला किसान, साना किसान, आदिवासी तथा स्थानीय समुदायले यसको संरक्षण, उत्पादन, प्रशोधन र खाद्य संस्कृतिको जगेर्नामा ऐतिहासिक भूमिका खेलेको महासंघले जनाएको छ।
महासंघका अनुसार कोदो पोषणयुक्त तथा जलवायु अनुकूल बालीका रूपमा पुनः स्थापित हुँदै गएको भए पनि यसको संरक्षणमा योगदान पुर्याएका किसानहरूको जीवनस्तरमा अपेक्षित सुधार आउन सकेको छैन। उत्पादन लागत वृद्धि, युवा पलायन, कृषि यान्त्रीकरणको अभाव, गुणस्तरीय बिउको संरक्षण तथा पहुँचमा समस्या, बजारको अनिश्चितता, प्रशोधन तथा भण्डारण पूर्वाधारको कमी र किसानले उचित मूल्य नपाउने अवस्था अझै कायम रहेको महासंघको भनाइ छ। गाउँमा किसानले कम मूल्यमा कोदो बिक्री गर्न बाध्य हुने तर बजारमा कोदो तथा त्यसबाट बनेका परिकार महँगो मूल्यमा बिक्री हुने अवस्थाले उत्पादक र उपभोक्ताबीचको असन्तुलित बजार संरचना उजागर गरेको महासंघले जनाएको छ।
जलवायु परिवर्तनका कारण बढ्दो खडेरी, अनियमित वर्षा, तापक्रम वृद्धि तथा कृषि उत्पादनमा देखिएको जोखिमका कारण कम पानी र कठिन भूगोलमा पनि उत्पादन गर्न सकिने कोदोको महत्त्व अझ बढेको महासंघको धारणा छ। त्यसैले कोदोलाई खाद्य तथा पोषण सुरक्षासँगै जलवायु अनुकूलन, कृषि जैविक विविधता संरक्षण र राष्ट्रिय खाद्य सम्प्रभुताको रणनीतिक आधारका रूपमा लिन आवश्यक रहेको सन्देशमा उल्लेख छ।
महासंघले सरकारसँग कोदोको उत्पादन लागतका आधारमा लाभ सुनिश्चित हुने गरी न्यूनतम समर्थन मूल्य निर्धारण गर्न, सरकारी संयन्त्रमार्फत खरिदको व्यवस्था गर्न, स्थानीय तथा रैथाने जातका बिउको संरक्षण र विकास गर्दै किसानको बिउमाथिको अधिकार सुनिश्चित गर्न, साना तथा पारिवारिक किसान, महिला, युवा, दलित, आदिवासी जनजाति, भूमिहीन तथा सीमान्तकृत किसानलाई सहुलियतपूर्ण ऋण, बीमा, अनुदान, प्राविधिक सेवा र कृषि सामग्री उपलब्ध गराउन तथा यान्त्रीकरणसहित कोदो खेतीको प्रवर्धन गर्न माग गरेको छ।
दोस्रो राष्ट्रिय कोदो दिवसको अवसरमा महासंघले कोदोको संरक्षण तथा प्रवर्धनमा किसानको नेतृत्व स्थापित गर्दै रैथाने बाली, कृषि जैविक विविधता, किसानको अधिकार, सम्मानजनक आय र खाद्य सम्प्रभुताका पक्षमा निरन्तर संघर्षरत रहने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
सम्पूर्ण कोदो उत्पादक किसान, साना तथा पारिवारिक किसान, कृषि श्रमिक, कृषि विज्ञ, प्राविधिक, अनुसन्धानकर्ता तथा कोदोको बिउ, खेती र संस्कृतिलाई पुस्तौँदेखि संरक्षण गर्दै आएका किसान समुदायप्रति हार्दिक शुभकामना व्यक्त गर्दै उच्च सम्मान प्रकट गरेको छ।
सरकारले हरेक वर्ष साउन १६ गते मनाइने गरेको छ। यस वर्ष भने “कोदोबाली संरक्षण र प्रवर्धन, खाद्य तथा पोषण सुरक्षा संवर्धन” भन्ने नारासहित देशभर दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ ।
