सात दलद्वारा ‘अग्रगामी मोर्चा’ घोषणा गर्ने तयारी, आगामी निर्वाचनमा एउटै चुनाव चिह्न प्रयोग गर्ने सहमति

दियोपोस्ट संवाददाता

काठमाडौं । सात वटा साना राजनीतिक दलले संयुक्त राजनीतिक सहकार्यका लागि ‘अग्रगामी मोर्चा’ घोषणा गर्ने अन्तिम तयारीमा जुटेका छन्। आगामी निर्वाचनमा साझा चुनाव चिह्नमार्फत प्रतिस्पर्धा गर्न ती दलहरूले मोर्चा निर्माण गर्न लागेका हुन्।

आगामी २३ साउनमा काठमाडौंको नयाँ बानेश्वरस्थित थापागाउँमा रहेको काठमाडौं बैंकेटमा विशेष कार्यक्रम आयोजना गरी मोर्चाको औपचारिक घोषणा गरिने बताइएको छ। नेताहरूका अनुसार विचार, नीति र कार्यशैलीमा थप समानता कायम हुँदै गएमा भविष्यमा पूर्ण पार्टी एकतासम्म पुग्ने सम्भावनालाई पनि खुला राखिएको छ।

मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल, डा. सीके राउत नेतृत्वको जनमत पार्टी, रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी, जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी, रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टी, प्रभु साह नेतृत्वको आम जनता पार्टी तथा बहुजन एकता पार्टी सहभागी हुने जनमत पार्टीका अध्यक्ष डा। सीके राउतले जानकारी दिए ।

फरक–फरक राजनीतिक पृष्ठभूमि र भौगोलिक प्रभाव भएका यी दलहरूको सहकार्यले मुलुकको राजनीतिमा नयाँ शक्ति सन्तुलन स्थापित गर्ने अपेक्षा गरिएको छ। सहभागी दलहरूले मोर्चालाई दीर्घकालीन र प्रभावकारी बनाउन दक्षिण अफ्रिकाको ऐतिहासिक राजनीतिक संगठन अफ्रिकन नेशनल कंग्रेस (एएनसी) को मोडललाई आधार बनाउने सहमति गरेका छन्।

मोर्चाले संघीयता, समावेशिता लगायत विगतका राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिको संरक्षणलाई प्राथमिकतामा राख्ने जनाएको छ। साथै सामाजिक तथा आर्थिक रूपमा पछाडि परेका समुदायको अधिकार सुनिश्चित गर्दै परम्परागत राजनीतिक शक्तिको प्रभावकारी विकल्प बन्ने लक्ष्य मोर्चाले लिएको छ।

आगामी २३ साउनको घोषणा सभामार्फत मोर्चाको साझा न्यूनतम कार्यक्रम, भावी कार्यदिशा तथा राजनीतिक एजेन्डा सार्वजनिक गरिने तयारी गरिएको छ।