
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज (मंगलबार) काठमाडौं उपत्यकाका साना नदी तथा खोलामा आकस्मिक बाढी (फ्ल्यास फ्लड)को उच्च जोखिम रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागले मंगलबार बिहान सार्वजनिक गरेको बुलेटिनअनुसार हाल देशका ठूला तथा प्रमुख नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहेकाले ती नदीमा तत्काल ठुलो बाढीको जोखिम देखिएको छैन ।
काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक भएर बग्ने साना नदी तथा खोलामा आज वर्षाका कारण बहाव उल्लेख्य बढ्न सक्ने भएकाले आकस्मिक बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ।
कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सामान्य अवस्थामै रहेको छ ।
यस्तै ताप्लेजुङ, झापा, धनकुटा, संखुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम लगायतका जिल्लाका साना नदीहरूमा पनि बहाव बढ्ने सम्भावना रहेको छ। ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहने विभागले जनाएको छ।
महाशाखाले भोलिसम्म सातै प्रदेशका केही साना नदीमा पानीको बहाव अचानक बढ्न सक्ने सम्भावना औँल्याउँदै नदी किनार, खोला तर्ने स्थान र डुबान हुन सक्ने क्षेत्रमा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।