
काठमाडौं । गोकर्णेश्वर नगरपालिका-४ माकलबारीमा नेपाली सेनाको निगरानीमा रहेको गोर्कण वनको पर्खालमा डोजर चलाइएपछि सांसद राजुनाथ पाण्डे र सैनिक अधिकारीबीच भनाभन भएको छ । सैनिक अधिकारी अनुपमान श्रेष्ठले काम डोजर नचलाउन भन्दै आग्रह गरेपछि काठमाडौं–३ का सांसद पाण्डे र सैनिक जवान श्रेष्ठबीच वादविवाद भएको हो ।
प्रत्यक्षदर्शीका अनुसार पर्खालमा डोजर चलाउन थालेपछि घटनास्थलमा पुगेका सैनिक अधिकारी श्रेष्ठले डोजर चलाउनका लागि वैधानिक पत्र चाहिने र सुरक्षा संवेदनशीलसंग जोडिएको संरचना भएकाले तत्काल काम रोक्न आग्रह गरेका थिए । सांसद पाण्डेले भने सडक विस्तारको काम नरोक्न निर्देशन दिएका थिए । त्यसक्रममा सांसद पाण्डे सैनिक अधिकारी श्रेष्ठसँग चर्काचर्की भएको थियो ।
आफैँ डोजर लिएर पुगेका सांसद पाण्डेले पर्खाल भत्काउने क्रममा आधिकारिक पत्र माग्ने नेपाली सेनाका अधिकृतलाई हप्कीदप्की गरेका थिए ।
घटनापछि सांसद पाण्डेको व्यवहारलाई लिएर सामाजिक सञ्जालमा आलोचना भएको छ । नेपाली सेनाको ब्यारेकसँग जोडिएको संरचनामा डोजर प्रयोग गरिनुअघि आवश्यक कानुनी प्रक्रिया र सेनासँगको समन्वय बिना डोजर चलाइएको भन्दै चौतर्फी आलोचना भएको छ ।
सांसद पाण्डे काठमाडौं महानगरपालिकाका पूर्व नगरप्रहरी प्रमुखसमेत हुन् । उनले सांसदको जिम्मवारी र दायरा बिर्सेर नगरप्रहरीकै शैलीमा डोजर चलाएको आरोप छ ।
नेपाली सेनाले वन्यजन्तुको संरक्षणको लागि गोर्कणदेखि दक्षिणढोकासम्म पर्खाल लगाई वनभित्र गण नै राखेर सुरक्षा दिइरहेको थियो । वनमा मृग, जरायोलगायत जनावर रहेका छन् । उक्त वनबाट काठदाउरा चोरी निकासी हुने गरेकोमा पर्खाल लगाएपछि त्यो बन्द भएको थियो ।

