सरकारले पहिलोपटक खुला आवेदनबाट राजदूत नियुक्त गर्दै

दियोपोस्ट संवाददाता

काठमाडौं । नेपाल सरकारले पहिलोपटक खुला आवेदनमार्फत राजदूत नियुक्ति गर्ने तयारी गरेको छ  । परराष्ट्र मन्त्रालयले रिक्त रहेका दूतावास तथा कार्यकाल सकिएर म्याद थप गरी सञ्चालन भइरहेका नियोगका लागि दुई साताभित्र नियुक्ति प्रक्रिया अघि बढाउने  तयारी गरेको हो ।

मन्त्रालयका अनुसार राजदूत रिक्त रहेका १६ दूतावास तथा चार वर्षे कार्यकाल पूरा गरी केही समयका लागि म्याद थपेर काम गरिरहेका इजिप्ट, बहराइन, बङ्गलादेश, म्यानमार र संयुक्त राष्ट्रसंघीय नियोग भियनासहित कुल २१ नियोगमा खुला आवेदनबाट राजदूत नियुक्त गर्ने तयारी गरिएको ह । खुला आवेदनबाट राजदूत नियुक्ति सिफारिस हुन लागेको यो पहिलो पटक हो ।

हाल विभिन्न १५ मुलुक तथा नियोगमा मात्रै नेपाली राजदूत कार्यरत छन् भने १६ मुलुक तथा नियोगमा राजदूत पद रिक्त रहेको मन्त्रालयले जनाएको छ । नेपालका २८ मुलुकमा राजदूतावास छन् । त्यसबाहेक संयुक्त राष्ट्रसंघका लागि न्यूयोर्क, जेनेभा र भियनामा स्थायी मिसन तथा आठ महावाणिज्य दूतावास गरी नेपालका कुल ३९ विदेशस्थित मिसन सञ्चालनमा छन् ।

हाल न्यूयोर्क, जेनेभा, भियना, बहराइन, बङ्गलादेश, बेल्जियम, क्यानडा, इजिप्ट, फ्रान्स, कुवेत, म्यानमार, पाकिस्तान, पोर्चुगल, थाइल्यान्ड र संयुक्त अरब इमिरेट्स (यूएई) मा राजदूत कार्यरत छन्। यस्तै अस्ट्रेलिया, चीन, जर्मनी, भारत, इजरायल, जापान, दक्षिण कोरिया, मलेसिया, ओमान, कतार, रुस, साउदी अरब, श्रीलङ्का, बेलायत, अमेरिका र स्पेनका लागि राजदूत पद रिक्त छ।

यसैबीच सरकारले चालु आर्थिक वर्षदेखि दक्षिण अफ्रिका, ब्राजिल र डेनमार्कस्थित नेपाली राजदूतावास बन्द गर्ने निर्णय पनि गरेको छ।

सम्बन्धित खबर