सुनकोसीमा बेपत्ता कार र व्यक्ति अझै भेटिएनन्, पीडित परिवारद्वारा खुर्कोट-घुर्मी सडक अवरुद्ध

दियोपोस्ट संवाददाता

काठमाडौँ  ।  सिन्धुली, मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरस्थित सुनकोसी नदीमा खसेको कार र त्यसमा सवार तीन जनाको अवस्था अझै अज्ञात रहेको छ। सोमबारदेखि ड्रोन र म्याग्नेट प्रयोग गरि खोजी गरिए पनि बेपत्ता व्यक्ति र कार फेला पर्न सकेका छैनन् ।

इलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी निरीक्षक विष्णु पौडेलका अनुसार बुधबार बिहानदेखि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस क्याम्प खुर्कोटको गोताखोर टोली, नेपाल प्रहरी तथा स्थानीयवासीले सुनकोसी नदी र आसपासका क्षेत्रमा खोजी कार्यलाई निरन्तरता दिएका छन् ।

नदीमा पानीको बहाव अत्यधिक भएकाले उद्धार तथा खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए । सोमबार बिहान ११ः४५ बजे काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र. ०८-००१ ख ०१४४ नम्बरको बसले सडक किनारमा रोकिराखिएको प्रदेश ३-०१-०२४ च ९५७३ नम्बरको कारलाई ठक्कर दिएको थियो। ठक्करपछि कार करिब ५० फिट तल सुनकोसी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

दुर्घटनामा सिन्धुपाल्चोकको जुगल गाउँपालिका-७ निवासी ३९ वर्षीय निर्माण व्यवसायी दिलकुमार लामा, सिन्धुलीको गोलन्जोर गाउँपालिका-१ निवासी २८ वर्षीय स्काभेटर चालक गणेश थापा र तीनपाटन गाउँपालिका-९ डाँडाखर्कका १७ वर्षीय सुजन बलम्पाकी मगर कारसहित तीन दिनदेखि बेपत्ता भएका छन्।

घटनापछि बेपत्ता व्यक्तिका परिवार तथा आफन्तले खोजी कार्य प्रभावकारी नभएको आरोप लगाउँदै बुधबार बिहानदेखि खुर्कोट-घुर्मी सडकखण्डअन्तर्गत गोलन्जोर गाउँपालिका-१ र फिक्कल गाउँपालिका-२ को सीमास्थित वाक्सुखोला पुलमा चक्काजाम गरेका छन्। उनीहरूले बेपत्ता व्यक्तिको शीघ्र खोजी, पीडित परिवारलाई उचित क्षतिपूर्ति तथा दोषीमाथि कडा कारबाहीको माग गर्दै आन्दोलन जारी राखेका छन्।

गोलन्जोर गाउँपालिका-१ का वडाध्यक्ष सोमप्रसाद बरालका अनुसार घटना भएको तीन दिन बितिसक्दा पनि बसधनी तथा बस सञ्चालन समितिले पीडित पक्षको मागप्रति बेवास्ता गरेको भन्दै स्थानीयले सडक अवरुद्ध गरेका हुन्।

लगातार तीन दिनदेखि खुर्कोट-घुर्मी सडकखण्ड बन्द हुँदा खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, भोजपुर, उदयपुरलगायत पूर्वी पहाडी जिल्लाबाट काठमाडौं आवतजावत गर्ने सयौं यात्रु र सवारीसाधन बाटोमै अलपत्र परेका छन्।

यसैबीच, दुर्घटनामा संलग्न बसका चालक फिक्कल गाउँपालिका-६ निवासी २६ वर्षीय हेमबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय खुर्कोटमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ।