स्वीकृतिविनै भारतीय विमानस्थलहुँदै नेपाली श्रमिक बाहिर पठाउने ३९ म्यानपावर कारबाहीमा

दियोपोस्ट संवाददाता

काठमाडौं । नियमविपरीत भारतको विमानस्थलमार्फत नेपाली श्रमिकलाई विदेश पठाउने ३९ वटा म्यानपावर कम्पनी कारबाहीमा परेका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार विभागको पूर्वअनुमति नलिई भारतको विमानस्थल प्रयोग गरेर श्रमिक विदेश पठाएको पुष्टि भएपछि ३९ वटा म्यानपावर कम्पनीलाई  कारबाही गरिएको हो ।

यस्तै, विभागले मागेको विवरण समयमै पेश नगरेको भन्दै थप १२४ वटा म्यानपावर कम्पनीलाई पनि प्रतिकम्पनी ५० हजार रुपैयाँका दरले जरिबाना गरेको जनाएको छ।

विभागले वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ अनुसार श्रमिकलाई विदेश पठाउँदा स्वदेशी विमानस्थल प्रयोग गरिएको वा नगरिएको विषयमा अनुगमन गर्न २०८२ चैत १ देखि २०८३ जेठ ३१ गतेसम्म विदेश पठाइएका श्रमिकको विवरण माग गरेको थियो । तर, १२४ कम्पनीले उक्त विवरण उपलब्ध नगराएपछि उनीहरूमाथि पनि कानुनअनुसार कारबाही गरिएको विभागले जनाएको छ ।

प्रचलित कानुनअनुसार नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउँदा नेपालकै विमानस्थल प्रयोग गर्नुपर्ने व्यवस्था छ । विशेष परिस्थितिमा मात्रै विभागलाई कारणसहित जानकारी गराई पूर्वअनुमति लिएर भारतका विमानस्थलमार्फत श्रमिक पठाउन पाइने व्यवस्था रहेको छ।