लगानी बोर्डको सीईओमा याङ्की उक्याब नियुक्त

दियोपोस्ट संवाददाता

काठमाडौँ ।  सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा  याङ्की उक्याबलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्याबलाई लगानी बोर्डको सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

सीईओ नियुक्तिका लागि गठित सिफारिस समितिले आठ जनाको नाम सर्टलिस्टमा समावेश गरेको थियो, जसमा उक्याब पनि परेकी थिइन् ।

विकास अर्थशास्त्र र सार्वजनिक नीतिकी विज्ञ उक्याबले बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट जननीतिशास्त्रमा स्नातकोत्तर गरेकी छन्  । उनले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) को प्रशान्त क्षेत्रीय कार्यालयमा वरिष्ठ नीति सल्लाहकार तथा यूएनडीपी नेपालमा विकास अर्थशास्त्रीका रूपमा काम गरिसकेकी छन्  ।

यसअघि उनले लगानी बोर्डमै वित्त तथा लगानीसम्बन्धी महत्त्वपूर्ण जिम्मेवारी सम्हालेकी थिइन्  ।