
काठमाडौँ । सरकारले सुनसरी र सिराहामा प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति तथा घाइतेहरूको राहत र उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदर्शनका क्रममा ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने तथा घाइतेहरूको उपचार र राहतको व्यवस्था गर्ने निर्णय गरेको हो ।
सुनसरीको देवानगञ्जमा भएको प्रदर्शनका क्रममा हालसम्म दुई जनाको मृत्यु भएको छ । प्रदर्शनकै दिन एक जनाको मृत्यु भएको थियो भने उपचारका क्रममा मंगलबार अर्का एक जनाको निधन भएको हो।
यस्तै, सिराहामा भएको प्रदर्शनका क्रममा पनि एक जनाको मृत्यु भएको थियो।
सरकारले दुवै जिल्लाका घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने र घाइतेहरूको उपचार तथा राहतको सम्पूर्ण व्यवस्था गर्ने निर्णय गरेको जनाएको छ।