
काठमाडौं । सरकारले विदेशबाट फर्किने नेपालीलाई आर्थिक प्रलोभनमा परी अपरिचित व्यक्ति, दलाल वा अन्य कसैको सुन, बहुमूल्य धातु तथा अन्य सामान बोकेर नेपाल नल्याउन निर्देशन दिएको छ ।
नेपाल प्रहरीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार पछिल्ला केही दिनयता दुबई, कतारलगायत मुलुकबाट स्वदेश फर्किने केही नेपाली आर्थिक प्रलोभनमा परी अरूको सुन तथा अन्य सामान ल्याउने क्रम बढेको पाइएकोमा यस्तो निर्देशन दिएको हो ।
कार्यालयले अपरिचित व्यक्ति, दलाल वा अन्य व्यक्तिले आर्थिक लाभको प्रलोभन देखाएर सुनका बिस्कुट, बहुमूल्य धातु तथा अन्य सामान नेपाल पठाउने प्रयास गरिरहेका छन् । यस्तो कार्य कानुनविपरीत भएकाले कसैको प्रलोभनमा नपर्न कार्यालयले आग्रह गरेको छ।
विमानस्थल सुरक्षा कार्यालयले यस्ता अवैध गतिविधिमा संलग्न व्यक्तिमाथि अनुसन्धान तथा कानुनी कारबाही भइरहेको जनाउँदै अवैध ओसारपसारमा संलग्न पाइए प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ ।
साथै, विदेशबाट फर्किने यात्रुलाई आफ्नो सामान तथा झोलामा रहेका वस्तुको वास्तविक विवरणबारे जानकारी राख्न, खरिद बिल तथा आवश्यक कागजात सुरक्षित राख्न, भन्सारसम्बन्धी प्रचलित कानुनको पूर्ण पालना गर्न र कुनै पनि दलाल वा अपरिचित व्यक्तिको प्रलोभनबाट टाढा रहन आग्रह गरिएको छ ।