मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवा सम्पर्कविहीन 

दियोपोस्ट संवाददाता

काठमाडौँ । कास्कीको मर्दी हिमाल पदयात्रामा निस्किएका पोखराका तीन जना युवा सम्पर्कविहीन भएका छन् ।उनीहरू माछापुच्छ्रे गाउँपालिका-९ को बादलडाँडा क्षेत्रको जंगल आसपासबाट सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार तीनै जना बुधबार बिहान करिब ८ बजेसम्म परिवारसँग सम्पर्कमा थिए । त्यसपछि उनीहरूसँग कुनै सम्पर्क हुन नसकेको हो । उक्त क्षेत्रमा मोबाइल नेटवर्क कमजोर हुने भएकाले उनीहरूको लोकेसन पत्ता लगाउन कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुमानअनुसार उनीहरू बाटो बिराएर जंगल क्षेत्रमा अलपत्र परेको हुन सक्ने आशंका गरिएको छ ।

सम्पर्कविहीन हुनेमा पोखरा-१४ खसिबजारका २४ वर्षीय अजित जिसी, २३ वर्षीय युकेश गुरुङ र २३ वर्षीय दिपेश गुरुङ रहेका छन् । उनीहरू हराएको सूचना बुधबार बिहान करिब ११ बजे प्राप्त भएपछि तत्काल प्रहरी टोली परिचालन गरिएको कास्की प्रहरीले जनाएको छ ।

प्रहरीसँगै स्थानीय पर्यटन व्यवसायी तथा बासिन्दाहरूको टोली पनि खोजी अभियानमा खटिएको छ । मौसम र भौगोलिक अवस्थालाई ध्यानमा राख्दै उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

 

सम्बन्धित खबर