
काठमाडौँ । एभरेष्ट बैंकले आर्थिक वर्ष २०८२।८३ को चौथो त्रैमाससम्म ५ अर्ब ६ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४दशमलव ७५ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको यही अवधिमा बैंकले ४ अर्ब ८३ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ० दशमलव ९७ प्रतिशतले वृद्धि भई ९ अर्ब १९ करोड ५ लाख रुपैयाँ पुगेको छ । यस्तै, शुल्क तथा कमिसन आम्दानी २७ दशमलव २३ प्रतिशतले बढ्दा गैर(ब्याज आम्दानीमा उल्लेखनीय सुधार देखिएको छ ।
बैंकको वितरणयोग्य नाफा पनि ७ दशमलव ४५ प्रतिशतले वृद्धि भई ५ अर्ब २५ करोड ७८ लाख रुपैयाँ पुगेको छ । सञ्चालन आम्दानी ६ दशमलव २१ प्रतिशतले बढेर ११ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ पुगे पनि सञ्चालन नाफा भने ० दशमलव ४९ प्रतिशतको सामान्य वृद्धिसहित ७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँमा सीमित भएको छ ।
समीक्षा अवधिमा ग्राहक निक्षेप ५ दशमलव ७६ प्रतिशतले बढेर ३१६ अर्ब १ करोड ८६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कर्जा तथा सापटी १० दशमलव ३७ प्रतिशतले विस्तार हुँदै २३५ अर्ब ५६ करोड ८४ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ ।
बैंकको चुक्ता पूँजी ६ प्रतिशतले वृद्धि भई १३ अर्ब ७२ करोड १४ लाख रुपैयाँ पुगेको छ भने रिजर्भ तथा अधिशेष १३ दशमलव ०३ प्रतिशतले बढेर २१ अर्ब ४७ करोड ५ लाख रुपैयाँ पुगेको छ । यससँगै प्रति शेयर नेटवर्थ २४७ रुपैयाँ ३९ पैसाबाट बढेर २५६ रुपैयाँ ४७ पैसामा पुगेको छ ।
यद्यपि, प्रति शेयर आम्दानी (ईपीएस) भने ३७ रुपैयाँ ३९ पैसाबाट घटेर ३६ रुपैयाँ ९५ पैसामा झरेको छ । निष्क्रिय कर्जा (एनपीएल) शून्य दशमलव ३८ प्रतिशतबाट बढेर शून्य दशमलव ४९ प्रतिशत पुगे पनि अझै १ प्रतिशतभन्दा कम रहेकाले बैंकको कर्जा गुणस्तर सन्तोषजनक रहेको देखिएको छ ।
समग्रमा, समीक्षा अवधिमा एभरेष्ट बैंकले खुद नाफा, निक्षेप, कर्जा तथा वितरणयोग्य नाफामा सकारात्मक वृद्धि हासिल गर्दै सुदृढ वित्तीय अवस्था कायम राख्न सफल भएको वित्तीय विवरणले देखाएको छ ।