
काठमाडौँ । पाकिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रड पिकको हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’सहित चार जनाको शव पाँच दिनपछि आधार शिविरमा ल्याइएको छ ।
हिमपहिरोमा परी मृत्यु भएका निर्मल पुर्जा, झोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव सफलतापूर्वक आधार शिविर पुर्याइएको निम्सदाइको कम्पनी एलिट एक्स्पेडले जनाएको छ ।
कम्पनीका अनुसार उद्धार अभियानको नेतृत्व मिङ्मा डेभिड शेर्पाले गरेका थिए। सिरबाज खानसहितको उद्धार टोलीले असाधारण साहस, उच्च व्यावसायिकता र निस्वार्थ समर्पणका साथ कठिन अभियान सम्पन्न गरेको कम्पनीले उल्लेख गरेको छ ।
उद्धार कार्य सफल बनाउन सहयोग पुर्याएको पाकिस्तान सेना, पाकिस्तान सरकार, गिलगिट-बाल्टिस्तान सरकार, स्थानीय प्रशासन, बेलायती उच्चायोग, नेपाल दूतावास, अल्पाइन क्लब अफ पाकिस्तान तथा अभियानमा सहयोग गर्ने सबैप्रति कम्पनीले आभार व्यक्त गरेको छ ।
कम्पनीले निम्सदाइ, झोङ, निमा र किलुले अब आफ्ना परिवारसम्म अन्तिम यात्राको सुरुआत गर्न पाउने भएकाले केही राहत महसुस भएको जनाएको छ ।
साथै, अझै बेपत्ता रहेका अन्य तीन आरोहीका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै मौसम र सुरक्षा अवस्था अनुकूल भएपछि उनीहरूको खोजी तथा उद्धारका लागि सम्भव सबै प्रयास जारी रहने प्रतिबद्धता पनि कम्पनीले जनाएको छ ।
गत बिहीबार ब्रड पिकमा आएको भीषण हिमपहिरोमा १० पर्वतारोही बेपत्ता भएका थिए। ती सबैको निधन भएको पुष्टि भइसकेको छ ।