
चन्द्रनिगाहपुर । रौतहटको गुजरा नगरपालिका-३ स्थित धनसार पुल नजिक महेन्द्र राजमार्गमा पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा पूर्ण रूपमा नष्ट भएको छ । दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रबार बिहान करिब ५ः३० बजे बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००१ ख ७८११ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर सडकमा आएको मृगलाई जोगाउने प्रयासमा अनियन्त्रित भई सडकको दाहिनेतर्फ पल्टिएको थियो। ट्याङ्कर पल्टिएलगत्तै आगलागी भएको प्रहरीले जनाएको छ ।
घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाको कमाण्डमा १० जना र जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरबाट प्रहरी निरीक्षक राजेन्द्र थापा मगरको नेतृत्वमा पाँच जना प्रहरी घटनास्थलमा खटिएका थिए ।
चन्द्रपुर नगरपालिका र बाराको निजगढबाट पुगेका दमकलको सहयोगमा बिहान करिब ६ः५० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो ।
आगलागीका कारण पेट्रोल बोकेको ट्याङ्कर पूर्ण रूपमा जलेर नष्ट भएको छ । यद्यपि दुर्घटनामा कुनै मानवीय क्षति नभएको र महेन्द्र राजमार्गमा सवारी आवागमन सामान्य रूपमा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न ट्याङ्करका चालक बाराको सिमरा उपमहानगरपालिका-११ निवासी करिब २५ वर्षीय समिर गुरुङलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनास्थल इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट करिब १३ किलोमिटर पश्चिममा रहेको छ ।