विभिन्न जिल्लाका साना नदीमा आकस्मिक बाढीको सम्भावना

दियोपोस्ट संवाददाता

काठमाडौँ । आज देशका विभिन्न ३० जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ । जल तथा मौसम विज्ञान विभागले ३० जिल्लाबाट बग्ने साना नदी तथा खोलामा बिहीबार आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरेको हो ।

महाशाखाका अनुसार आज बिहानको मापनअनुसार कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका प्रमुख सहायक नदीहरूको बहाव भने हाल सतर्कता तहभन्दा तल रहेको छ । कन्काई, कमला, बबई, पूर्वी र पश्चिम राप्ती नदीको बहाव पनि सामान्य अवस्थामै रहेको महाशाखाले जनाएको छ।

तर आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, नुवाकोट, धादिङ, रसुवा, गोरखा, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, पाल्पा, तनहुँ, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ, डोटी, डडेल्धुरा, कञ्चनपुर, कैलाली तथा आसपासका क्षेत्रमा बग्ने साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको छ।

महाशाखाले ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले नदी किनार, खोला आसपास तथा डुबान हुन सक्ने स्थानमा अनावश्यक आवतजावत नगर्न र आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

यस्तै, भोलि र पर्सी पनि सातै प्रदेशका केही साना नदी तथा खोलामा पानीको बहाव अचानक बढ्न सक्ने पूर्वानुमान गरिएको छ। मौसमको अवस्थाअनुसार नदीहरूको बहावमा परिवर्तन हुन सक्ने भएकाले विभागले नियमित अद्यावधिक सूचना हेर्न सर्वसाधारणलाई आग्रह गरेको छ।