भारतका पाँच नेपाली संघ-संगठनबीच एकता, ‘नेपाली समाज भारत’ गठन

दियोपोस्ट संवाददाता

काठमाडौँ । भारतमा क्रियाशील पाँच छुट्टा छुट्टै नेपाली संघ-संगठनबीच संगठनात्मक एकता भएको छ । आइतबार अनलाइन माध्यमबाट आयोजित एकता तथा समायोजन कार्यक्रममार्फत ती संगठनहरू अबदेखि ‘नेपाली समाज भारत’ नामबाट एकीकृत रूपमा सञ्चालन हुने औपचारिक घोषणा गरिएको हो ।

एकतापछि नवगठित संगठनको संयोजकमा चक्र बहादुर मलाती सर्वसम्मत रूपमा चयन भएका छन् । सहसंयोजकमा मोहन देवकर, आर.बी. खड्का, नारायण बन्जाडे, उषा खड्का, भगवती भण्डारी, बेदप्रकाश भण्डारी, कटक शाही, अमर बहादुर बिष्ट, भीम बहादुर खड्का तथा मुकेश कुँवर चयन भएका छन् ।

कार्यक्रममा सहभागी पाँचवटै संगठनले साझा स्वामित्व र सहकार्यको भावनासहित एकीकृत भएर अघि बढ्ने निर्णय गरेका हुन् । यससँगै नेपाली समाज भारत, प्रवासी नेपाली एकता मञ्च, प्रवासी नेपाली मातृभूमि संघ भारत, प्रवासी नेपाली जन समाज भारत तथा नेपाली जन समाज भारत एकीकृत भई एउटै संगठनका रूपमा सञ्चालन हुने जनाइएको छ ।

एकतापछि पदाधिकारीसहित ६१३ सदस्यीय संयुक्त केन्द्रीय समिति गठन गरिएको आयोजकले जनाएको छ । संगठनका पूर्व अध्यक्ष ईश्वरी भण्डारीको अध्यक्षतामा कार्यक्रममा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथि तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विशेष अतिथिका रूपमा सहभागी भएका थिए ।

कार्यक्रममा सहभागी वक्ताहरूले यस संगठनात्मक एकताले भारतस्थित नेपाली समुदायको हक, हित, अधिकार, सामाजिक सद्भाव तथा संगठनात्मक सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

आयोजक समितिले कार्यक्रममा सहभागी प्रमुख अतिथि, विशेष अतिथि, विभिन्न संघ-संगठनका प्रतिनिधि तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै नवगठित ‘नेपाली समाज भारत’ले सेवा, संरक्षण, अधिकार, सम्मान र समुदायको समग्र हित प्रवर्द्धनका लागि एकीकृत रूपमा काम गर्ने प्रतिबद्धता जनाएको छ।