
पोखरा । कास्कीको मर्दी हिमाल पदयात्राका क्रममा जंगलमा अलपत्र परेका पोखराका तीन जना युवाको सकुशल उद्धार गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण हेडक्वार्टर कालिका, कास्की प्रहरीले टोलीले बिहीबार अन्नपूर्ण गाउँपालिका-११ स्थित छुमरुङको फेदीबाट उनीहरूको उद्धार गरेको हो।
उद्धार गरिएकामा पोखरा-१४ खसिबजारका २४ वर्षीय अजित जिसी, २३ वर्षीय युकेश गुरुङ र २३ वर्षीय दिपेश गुरुङ रहेका छन् ।
उनीहरू मर्दी हिमाल पदयात्राका क्रममा जंगलमा बाटो बिराएर अलपत्र परेका थिए । तीनै जना बुधबार बिहान करिब ८ बजेसम्म सम्पर्कमा थिए । त्यसपछि भने सम्पर्क हुन सकेको थिएन ।
मोदी खोलामा पानीको बहाव अत्यधिक भएका कारण बुधबार उद्धार सम्भव हुन सकेको थिएन । त्यसपछि उद्धार टोलीले बिजुलीको लाइन बन्द गराई खोलावारी र खोलापारी रहेका बिजुलीका पोलबीच तानिएको तारको सहायताले नदी पार गर्दै युवाहरू रहेको स्थानमा पुगेर सकुशल उद्धार गरेको हो ।
उद्धारपछि तीनै जनालाई सुरक्षित स्थानमा ल्याइएको प्रहरीले जनाएको छ ।