
काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३।८४ को बजेटमार्फत घोषणा गरिएको तलबवृद्धिअनुसार राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले २०८३ साउन १ गतेदेखि लागू हुने गरी निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र स्थानीय तहका कर्मचारीहरूको नयाँ तलबमान र सुविधा स्वीकृत गरेको हो ।
अर्थ मन्त्रालयले साउन ६ गते प्रस्ताव पठाएकोमा मन्त्रिपरिषद्ले करिब १५ दिनपछि त्यसलाई अनुमोदन गरेको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रिपरिषद्को निर्णयअनुसार स्वीकृत नयाँ तलबमान सम्बन्धित निकायहरूमा पठाइसकेको छ ।
नयाँ तलबमानअनुसार अब सबैभन्दा बढी तलब मुख्य सचिव र नेपाली सेनाका प्रधानसेनापतिले समान रूपमा ९० हजार ५ सय ९४ रुपैयाँ पाउनेछन् । यसअघि उनीहरूको आधारभूत तलब ८४ हजार ९ सय ३२ रुपैयाँ रहेकोमा ग्रेड वृद्धि पश्चात् कुल तलब उक्त रकम पुगेको हो ।
त्यसैगरी नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी), सशस्त्र प्रहरी बलका महानिरीक्षक तथा नेपाल सरकारका सचिवहरूको कुल तलब ८४ हजार ५ सय ७६ रुपैयाँ कायम गरिएको छ ।
सरकारी सेवामा सबैभन्दा कम तलब पाउने प्रथम स्तरका कार्यालय सहयोगीको कुल तलब अब २८ हजार ९ सय ८४ रुपैयाँ पुगेको छ । श्रेणीविहीन कर्मचारीहरू (हल्कारा, हुलाकी तथा कार्यालय सहयोगी) को सुरु तलबमान २७ हजार १ सय ७२ रुपैयाँ रहेकामा ग्रेड थपिएपछि उक्त रकम २८ हजार ९ सय ८४ रुपैयाँ पुगेको हो ।
सरकारले तलबवृद्धिसँगै कर्मचारीका लागि मासिक १० प्रतिशत प्रोत्साहन भत्ताको पनि व्यवस्था गरेको छ। अर्थ मन्त्रालयको परिपत्रअनुसार वृद्धि पश्चात् कायम भएको तलबमानको १० प्रतिशत रकम मासिक रूपमा प्रोत्साहन भत्ताका रूपमा उपलब्ध गराइनेछ भने ग्रेड रकम यथावत् रहनेछ ।
सामुदायिक विद्यालयका शिक्षकतर्फ माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको तलब ७४ हजार ९ सय ५८ रुपैयाँ कायम गरिएको छ भने प्राथमिक तहका शिक्षकको न्यूनतम तलब ३४ हजार ४ सय २६ रुपैयाँ पुगेको छ । स्वास्थ्य सेवातर्फ अधिकृत बाह्रौँ तहको तलब ८४ हजार ५ सय ७६ रुपैयाँ निर्धारण गरिएको छ ।
यसअघि अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमार्फत साउनदेखि लागू हुने गरी कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि र थप १० प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था घोषणा गरेका थिए। त्यस्तै, अवकाशप्राप्त कर्मचारी तथा पेन्सनधारीहरूको पेन्सनमा पनि १० प्रतिशत वृद्धि गरिएको छ ।
अर्थ मन्त्रालयले नयाँ तलबमान २०८३ साउन १ गतेदेखि नै गणना हुने गरी कार्यान्वयनमा आइसकेको जनाएको छ । साथै, सबै सरकारी निकायलाई स्वीकृत नयाँ तलबमानअनुसार कर्मचारीहरूको तलब तथा सुविधा भुक्तानी गर्न निर्देशन दिइसकेको मन्त्रालयले जनाएको छ ।