बर्खा लागेसँगै लेकमका सडक अवरुद्ध, स्ट्रेचरका भरमा सुत्केरीको उद्वार

दियोपोस्ट संवाददाता

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा वर्षायाम सुरु भएसँगै छ वटै वडाका सडक अवरुद्ध भएका छन् । बाटो अबरुद्ध भएपछि बिरामी तथा गर्भवती महिलाले सास्ती खेप्नु परेको छ ।

बाटो बिग्रिएपछि बिरामी तथा सुत्केरी महिलाको उद्वार गर्न स्ट्रेचरको भर पर्नु परेको इलाका प्रहरी कार्यालय रिठाचौपाताका प्रहरी हवल्दार वीर सिंह साउदले बताए । बुधबारमात्रै वडा नं ५ रिठाकी सुतिता धामीलाई स्ट्रेचरमार्फत स्वास्थ्य संस्थासम्म पुर्‍याएर सुरक्षित सुत्केरी गराइएको उनले जानकारी दिए ।

अचानक सुत्केरी व्यथा लागेपछि अस्पताल पुर्‍याउन गाउँमा पर्याप्त जनशक्ति नभएको र गाउँसम्म मोटर बाटो नपुगेका कारण सुनितालाई तीन जना सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा उनलाई स्ट्रेचरमा बोकेर रिठाचौपाता स्वास्थ्य चौकी पुर्‍याइएको थियो। स्वास्थ्य चौकीमा उनले सुरक्षित रूपमा शिशुलाई जन्म दिएकी छन् ।

केही वर्षअघि नै लेकम गाउँपालिकामा मोटरबाटो निर्माण भए पनि वर्षायाममा सडकहरू हिलाम्मे र अवरुद्ध हुने गरेका छन् । सडक सञ्चालनमा आउन नसक्दा बिरामी र सुत्केरी महिलालाई अस्पताल पुर्‍याउन एम्बुलेन्सको सट्टा स्ट्रेचर प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्थानीय जनप्रतिनिधिहरू बताउँछन् ।

गाउँपालिकाकी उपाध्यक्ष माधवी जोशीका अनुसार गाउँपालिकामा एम्बुलेन्स भए पनि वर्षातका कारण सडक बिग्रिने भएकाले बर्खायामभरि एम्बुलेन्स प्रायः गाउँपालिका कार्यालयमै थन्किने गर्छ । उनका अनुसार पहाडी क्षेत्रमा वर्षा सुरु भएपछि मोटरबाटो सञ्चालन हुन नसक्दा बिरामीको उद्धारका लागि स्ट्रेचर नै सबैभन्दा भरपर्दो विकल्प बन्ने गरेको छ ।

उपाध्यक्ष जोशीले गाउँपालिकाका सबै वडामा अझै सडक सञ्जाल नपुगेकाले एम्बुलेन्स सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न कठिनाइ भइरहेको बताइन् । यही अवस्थालाई मध्यनजर गर्दै मोटरबाटो नपुगेका गाउँहरूमा स्ट्रेचर वितरण गरिएको र आकस्मिक अवस्थामा बिरामी ओसार्न गाउँपालिकाको सवारीसाधनसमेत प्रयोग गरिने उनले जानकारी दिइन् ।

हाल लेकम गाउँपालिकाका ६ वटै वडालाई एउटै एम्बुलेन्सले सेवा दिनुपर्ने अवस्था रहेको छ । वर्षायाममा सडक अवरुद्ध हुने समस्याले दुर्गम बस्तीका नागरिकले आधारभूत स्वास्थ्य सेवासमेत सहज रूपमा प्राप्त गर्न नसक्ने अवस्था अझै कायम रहेको स्थानीयको गुनासो छ ।

सम्बन्धित खबर

सिफारिस