
काठमाडौं । पत्रकारको आवरणमा लागुऔषध कारोबार गरेको आरोपमा सिराहाबाट संचालित ‘जनजागरण खबर’का समाचारदातासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले सिराहाको लक्ष्मीपुर गाउँपालिका-२ निवासी २६ वर्षीय उमेश कुमार यादव, लाहान नगरपालिका-१० निवासी ३० वर्षीय रमेश कुमार राम तथा लक्ष्मीपुर गाउँपालिका-२ निवासी २५ वर्षीय गुल्सन प्रसाद साहलाई पक्राउ गरेको हो ।
सिराहाको मिर्चैयाबाट काठमाडौंतर्फ आउँदै गरेको बा १६ च ७८४६ नम्बरको कारलाई सिन्धुलीको दुधौली नगरपालिका-९ मा रोकी शङ्काका आधारमा बर्दिबासबाट खटिएको प्रहरी टोलीले जाँच गरेको थियो । जाँचका क्रममा कारको गियर बक्सभित्र लुकाइराखिएको ४४.३४० ग्राम खैरो हेरोइन बरामद भएको ब्यूरोले जनाएको छ ।
सोही क्रममा कार चालक समेत रहेका ‘जनजागरण खबर’का समाचारदाता (न्युज रिपोर्टर) उमेश कुमार यादवसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय डकाहा, सिन्धुलीमा बुझाएको जनाएको छ । घटनास्थलबाट ४४.३४० ग्राम खैरो हेरोइन, चार थान मोबाइल फोन र बा १६ च ७८४६ नम्बरको कार बरामद गरिएको प्रहरीले जनाएको छ ।
ब्यूरोका अनुसार प्रारम्भिक अनुसन्धानबाट उक्त कार उमेश कुमार यादवले हुलास फाइनान्स, काठमाडौंबाट किस्ताबन्दीमा लिएको खुलेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।
