होटल-रेष्टुरेन्टमा धूम्रपानका लागि छुट्टै स्थान बनाउनु पर्ने जिप्रका काठमाडौँको आदेश

दियोपोस्ट संवाददाता

काठमाडौँ  ।  काठमाडौँ  जिल्लाभित्र सञ्चालित सबै होटल तथा रेष्टुरेन्टले अब धूम्रपान गर्ने ग्राहकका लागि छुट्टै स्थानको व्यवस्था गर्नुपर्ने भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना जारी गरी  होटल तथा रेष्टुरेन्टहरूलाई व्यवस्थित रूपमा हुक्का, चुरोट तथा अन्य सुर्तीजन्य पदार्थ सेवन गर्न मिल्ने छुट्टै स्थान बनाउन निर्देशन दिएको हो ।

सूचना धूम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने गरी होटल तथा रेष्टुरेन्टमा जथाभाबी धूम्रपान गराइँदै आएको तथा सञ्चालकहरूले कानुनी व्यवस्था पालना नगरेको भन्दै कार्यालयमा गुनासो प्राप्त भएको छ।

सूचनामा धूम्रपान गर्न मिल्ने र नमिल्ने स्थान स्पष्ट रूपमा छुट्याउन, धूम्रपानका लागि तोकिएको स्थानलाई चारैतर्फबाट बन्द गरी अन्य व्यक्तिमा धुवाँको असर नपर्ने व्यवस्था गर्न तथा होटल-रेष्टुरेन्टलाई व्यवस्थित रूपमा सञ्चालन गर्न निर्देशन दिइएको छ।

प्रशासनले कार्यालय तथा तोकिएका अन्य निकायबाट नियमित अनुगमन गरिने जनाएको छ । अनुगमनका क्रममा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन, २०६८ विपरीत कार्य गरेको पाइएमा ऐनको दफा १७ बमोजिम अधिकतम कारबाही गरिने चेतावनी पनि दिएको छ।

 

सम्बन्धित खबर

सिफारिस