
काठमाडौं । नेपाल पत्रकार महासंघले जर्मनीको बर्लिनस्थित नेपाली दूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेलमाथि धम्कीपूर्ण तथा अमर्यादित व्यवहार गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघका महासचिव रामप्रसाद दाहालले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति पत्रकार महासंघको गंभिर ध्यानाकर्षण भएको जनाएका हुन् । विज्ञप्तीअनुसार, समाचारका लागि प्रतिक्रिया लिने क्रममा सचिव यादवले पत्रकार गजुरेललाई धम्की दिएका थिए ।
सचिव यादवले ‘तपाईं कुन ठाउँमा बसेर पत्रकारिता गर्दै हुनुहुन्छ थाहा छ? म अबदेखि तपाईंको फोन उठाउदिन, थप समाचार लेख्नु भयो भने तपाईंलाई गाह्रो पर्छ, ब्याक फायर गर्छु’ भन्दै धम्की दिएको नेपाल पत्रकार महासंघ युरोप शाखाले जनाएको छ।
महासंघले समाचारसँग सम्बन्धित पक्षको प्रतिक्रिया लिनु पत्रकारिताको आधारभूत पेशागत दायित्व भएको उल्लेख गर्दै पेशागत जिम्मेवारी निर्वाह गरिरहेका पत्रकारमाथि अमर्यादित तथा अशोभनीय व्यवहार गर्नु कूटनीतिक मर्यादाविपरीत हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार भएको ठहर गरेको छ।
यस्तो व्यवहारको नेपाल पत्रकार महासंघले कडा शब्दमा भर्त्सना गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।