ट्रम्पद्वारा जन्मसिद्ध नागरिकता र ‘बर्थ टुरिज्म’मा थप कडाइ

दियोपोस्ट संवाददाता

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मिने बालबालिकाले स्वतः अमेरिकी नागरिकता प्राप्त गर्ने व्यवस्थालाई थप सीमित गर्ने उद्देश्यले दुई नयाँ कार्यकारी आदेश जारी गरेका छन् ।

ट्रम्प प्रशासनका अनुसार नयाँ व्यवस्थाले केही विशेष अवस्थामा गैरअमेरिकी नागरिकका सन्तानले अमेरिकामा जन्मिए पनि स्वतः नागरिकता प्राप्त गर्ने प्रचलनमा रोक लगाउनेछ  ।

यसअन्तर्गत विदेशी आतंकवादी संगठनसँग सम्बन्धित व्यक्ति, विदेशी सरकारका कर्मचारी, जालसाजीमार्फत नागरिकता प्राप्त गर्न खोज्ने व्यक्ति तथा संघीय कानुनअनुसार नागरिकता नपाउने अमेरिकी क्षेत्रका बासिन्दाका सन्तानलाई समेटिएको छ ।

त्यस्तै, अर्को कार्यकारी आदेशले ‘बर्थ टुरिज्म’अर्थात् बच्चा जन्माएर अमेरिकी नागरिकता दिलाउने उद्देश्यले गर्भवती महिला अमेरिका आउने अभ्यासलाई नियन्त्रण गर्ने व्यवस्था गरेको छ । आदेशमा हस्ताक्षर गर्दै राष्ट्रपति ट्रम्पले यस्तो व्यवस्था धेरैअघि नै लागू हुनुपर्ने भए पनि अहिले आफ्नो प्रशासनले त्यसलाई कार्यान्वयनमा ल्याएको बताएका छन् ।

अमेरिकी नागरिकताको दुरुपयोग रोक्नु तथा राष्ट्रिय सुरक्षालाई थप मजबुत बनाउनु कदमको मुख्य उद्देश्य रहेको उनको दाबी छ । ट्रम्प प्रशासनले लामो समयदेखि ‘बर्थ टुरिज्म’को विरोध गर्दै आएको छ। प्रशासनका अनुसार केही विदेशी नागरिक पर्यटकका रूपमा अमेरिका प्रवेश गरी बच्चा जन्माउने, त्यसपछि आफ्नो देश फर्किने र अमेरिकी नागरिक बनेका सन्तानमार्फत भविष्यमा विभिन्न अधिकार तथा सुविधा प्राप्त गर्ने उद्देश्य राख्ने गरेका छन् ।

प्रशासनले वास्तविक उद्देश्य लुकाएर अमेरिका प्रवेश गर्ने र सन्तानलाई अमेरिकी नागरिक बनाउने प्रयास भइरहेको आरोप लगाउँदै आएको छ ।

तर, अमेरिकामा जन्मसिद्ध नागरिकताको व्यवस्था लामो समयदेखिको संवैधानिक परम्परासँग जोडिएको विषय भएकाले ट्रम्पका नयाँ कदम कानुनी चुनौतीको सामना गर्न सक्ने कानुनी तथा संवैधानिक विश्लेषकहरूले बताएका छन् । जन्मसिद्ध नागरिकताको विषय अमेरिकी संविधानको १४औँ संशोधनसँग समेत जोडिएकाले कार्यकारी आदेशमार्फत त्यसमा परिवर्तन गर्ने प्रयास अदालतमा पुग्न सक्ने देखिएको छ।

सम्बन्धित खबर

सिफारिस