
काठमाडौँ । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०-८१ देखि सञ्चालन गर्दै आएको ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमलाई यस आर्थिक वर्षमा पनि निरन्तरता दिएको छ । कार्यक्रमअन्तर्गत हिँडडुल गर्न नसक्ने, अति अशक्त, अपाङ्गता भएका, विपन्न तथा दीर्घरोगी ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ ।
ज्येष्ठ नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर सुरु गरिएको कार्यक्रम प्रभावकारी बन्दै गएपछि उपमहानगरपालिकाले हरेक वर्ष निरन्तरता दिँदै आएको प्रवक्ता शिव रानाले बताए । उनका अनुसार नगरका १९ वटै वडामा कार्यक्रम सञ्चालन भइरहेको छ ।
‘हामीले विगत तीन वर्षदेखि यो कार्यक्रम सञ्चालन गर्दै आएका छौँ । उपमहानगरपालिकाका प्रत्येक वडामा कार्यक्रम प्रभावकारी भइरहेको छ,’ प्रवक्ता रानाले भने, ‘आफैँ अस्पतालसम्म जान नसक्ने ज्येष्ठ नागरिकका लागि डाक्टरको विशेषज्ञ टोली घरमै पठाएर स्वास्थ्य परीक्षण तथा उपचार गरिरहेका छौँ ।’
उपमहानगरपालिकाले लुम्बिनी प्रादेशिक अस्पतालसँगको समन्वयमा विशेषज्ञ चिकित्सकसहितको टोली ज्येष्ठ नागरिकको घरदैलोमै पठाएर स्वास्थ्य परीक्षण तथा उपचार गर्दै आएको जनाएको छ ।
हिँडडुल गर्न नसक्ने, अति अशक्त, अपाङ्गता भएका, विपन्न तथा दीर्घरोगी ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिँदा उनीहरूमा उत्साह थपिएको नगरप्रमुख खेलराज पाण्डेले बताए । अस्पतालमा उपलब्ध हुने सेवा घरमै पाएपछि ज्येष्ठ नागरिकहरू खुसी भएको उनको भनाइ छ ।
‘ज्येष्ठ नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै तीन वर्षअघि यो कार्यक्रम ल्याएका थियौँ । सबै वडामा कार्यक्रम निकै प्रभावकारी भएको छ। त्यसैले आगामी वर्ष पनि यसलाई निरन्तरता दिनेछौँ,’ नगरप्रमुख पाण्डेले भने ।
उपमहानगरपालिकाले ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य परीक्षण र उपचारसँगै आवश्यक औषधिसमेत निःशुल्क उपलब्ध गराउँदै आएको पाण्डेले बताए ।
‘समानता, स्वाभिमान र अवसर, बस्न योग्य बुटवल शहर’ भन्ने नारासहित बुटवललाई नमुना शहर बनाउने अभियानमा ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमले समेत योगदान पुर्याएको नगरप्रमुख पाण्डेको दाबी छ ।
यसका साथै उपमहानगरपालिकाले उपप्रमुख सुत्केरी स्वास्थ्यवर्धक कार्यक्रम, शिशु पोषण कार्यक्रम तथा जटिल रोगका बिरामीलाई राहत र उपचारमा सहयोग गर्ने कार्यक्रमसमेत नियमित रूपमा सञ्चालन गरिरहेको जनाएको छ ।
जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेका अनुसार ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रम बुटवलका १९ वटै वडामा सञ्चालन भइरहेको छ ।
उपमहानगरपालिकाका अनुसार कार्यक्रम सुरु भएको पहिलो आर्थिक वर्षमा स्वास्थ्य परीक्षण तथा उपचार गरिएका ज्येष्ठ नागरिकमध्ये १ हजार ३ सय ८२ महिला र १ हजार १ सय ९९ पुरुष गरी २ हजार ५ सय ८१ जनाले सेवा लिएका थिए ।
त्यसक्रममा ७ सय ८ जनाले ईसीजी सेवा लिएका थिए भने २ हजार २ सय ६९ जनाको सुगर परीक्षण र १ सय २५ जनाको भिडियो एक्सरे गरिएको उपमहानगरपालिकाको तथ्यांकमा उल्लेख छ ।
अभियानअन्तर्गत लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन डा. नन्दु पाठक, स्त्रीरोग विशेषज्ञ डा. राजेन्द्र बस्याल, फिजिसियन डा. हरि पन्थीलगायत विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत तथा स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकको नियमित स्वास्थ्य परीक्षण गर्दै आएका छन् ।
