महालक्ष्मी विकास बैंकले सञ्चालनमा ल्यायो ‘शिशु स्याहार कक्ष’ तथा ‘डे केयर’

दियोपोस्ट संवाददाता

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना महिला कर्मचारीलाई लक्षित गर्दै केन्द्रीय कार्यालय, दरबारमार्गमा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालनमा ल्याएको छ ।

विश्व स्तनपान सप्ताह २०२६ को अवसर पारेर बैंकले स्तनपान गराइरहेका महिला कर्मचारीलाई सुरक्षित, सहज, स्वच्छ र गोपनीय वातावरण उपलब्ध गराउने उद्देश्यले शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालनमा ल्याएको हो ।

महालक्ष्मी बैंककी महिला नेतृत्व तथा विकास फोरमकी अध्यक्षले एक कार्यक्रमका बीच स्याहार कक्षको उद्घाटन गरेकी थिइन् । महिला कर्मचारीको नेतृत्व क्षमता अभिवृद्धि गर्दै संस्थागत विकासमा प्रभावकारी भूमिका निर्वाह गराउने उद्देश्यले गठन गरिएको फोरमले महिला सशक्तीकरण, पेशागत दक्षता तथा आत्मविश्वास अभिवृद्धि र कार्यस्थलमा समान अवसर तथा समावेशी वातावरण प्रवर्धनलगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

बैंकको ३२औँ वार्षिक उत्सवको अवसरमा गठन गरिएको महालक्ष्मी महिला नेतृत्व तथा विकास फोरमले महिला कर्मचारीको क्षमता विकास तथा नेतृत्व अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले जनाएको छ ।

महालक्ष्मी विकास बैंकले समावेशिता र लैङ्गिक समानतालाई प्राथमिकतामा राख्दै कर्मचारीमैत्री, परिवारमैत्री तथा समावेशी कार्यसंस्कृति निर्माणलाई जोड दिँदै आएको जनाएको छ । मातृत्वप्रतिको सम्मान, कार्य-जीवन सन्तुलन र कर्मचारी कल्याणलाई प्रवद्र्धन गर्ने दीर्घकालीन प्रतिबद्धताको निरन्तरताका रूपमा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालनमा ल्याइएको बैंकको भनाइ छ ।

बैंकले सबै कार्यस्थललाई मातृत्वमैत्री वातावरण निर्माणतर्फ अग्रसर हुन आग्रह गर्दै कर्मचारीको स्वास्थ्य, सम्मान र समग्र कल्याणप्रति सदैव प्रतिबद्ध रहने जनाएको छ ।

‘सबल बैंक, सफल सहकार्य’ भन्ने नाराका साथ बैंकले नेपाली जनताको घरदैलोमा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको छ ।

सम्बन्धित खबर

सिफारिस