नाट्टा निर्वाचनमा जिस्वा तुलाधार प्यानलको उम्मेदवारी घोषणा, १२ बुँदे प्रतिबद्धता प्रस्तुत

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को आगामी निर्वाचनका लागि जिस्वा तुलाधार श्रेष्ठ नेतृत्वको टिमले उम्मेदवारी दर्ता गराएको छ।

पर्यटन व्यवसायको प्रवर्द्धन, व्यवसायीका समस्या समाधान तथा नाट्टालाई थप सशक्त र प्रभावकारी बनाउने योजनासहित श्रेष्ठ नेतृत्वको टिम निर्वाचनमा होमिएको हो ।

तुलाधार श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी दिएकी छन् । तुलाधारले ‘सदस्यको विश्वास, एकताबद्ध नाट्टा, समृद्ध पर्यटन व्यवसाय’ भन्ने नारासहित १२ बुँदे निर्वाचन प्रतिबद्धता-पत्र सार्वजनिक गरेकी छन् । उनले प्रतिबद्धतासँगै आफ्नो नेतृत्वमा १२ सदस्यीय प्यानलसमेत घोषणा गरेकी छन् ।

तुलाधार नेतृत्वको प्यानलमा वरिष्ठ उपाध्यक्षमा विष्णु पाण्डे, उपाध्यक्षमा प्रज्ञा शर्मा पाठक, महासचिवमा सुशील पन्त, सचिवमा रमेश घिमिरे, कोषाध्यक्षमा कृष्णप्रसाद ढकाल र सह-कोषाध्यक्षमा डा. बिमला दाहाल उम्मेदवार रहेका छन् ।

त्यस्तै, कार्यसमिति सदस्यतर्फ प्रदीप आचार्य, दिनेश घिमिरे, सुदर्शन गौजुरेल, अनु अधिकारी (राउत), रोजना रञ्जित र त्रिलोचन न्यौपाने उम्मेदवार छन् ।

तुलाधारको प्यानलले नाट्टालाई थप एकताबद्ध बनाउँदै पर्यटन व्यवसायीका लागि नयाँ अवसर सिर्जना गर्ने र नेपालको पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने जनाएको छ । प्यानलले ‘सबल नेतृत्व, सुरक्षित व्यवसाय-समृद्ध पर्यटनका लागि नाट्टा’ भन्ने सन्देश पनि अघि सारेको छ ।

यस्ता छन् तुलाधार प्यानलका १२ प्रतिबद्धता

१.अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन : नेपालका पर्यटकीय गन्तव्यलाई अन्तर्राष्ट्रिय बजारमा थप प्रचार गर्ने प्रतिबद्धता प्यानलले जनाएको छ । अन्तर्राष्ट्रिय पर्यटन मेला, बीटुबी कार्यक्रम र डिजिटल माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धन गरी विदेशी पर्यटक बढाउने योजना अघि सारिएको छ ।

२.आईएटीए तथा टिकटिङ प्रणालीमा सुधार : हवाई टिकट व्यवसायमा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायसँग पहल गर्ने प्रतिबद्धता गरिएको छ । क्यापिङ पोलिसी, जीडीएस, एडीएमलगायत टिकटिङसँग जोडिएका विषयमा व्यवसायीको हितमा काम गर्ने योजना प्यानलले अघि सारेको छ ।

३.नयाँ तथा साना व्यवसायीलाई प्रोत्साहन :नयाँ र साना पर्यटन व्यवसायीलाई नाट्टासँग जोड्ने तथा उनीहरूका समस्या समाधानमा सहयोग गर्ने प्रतिबद्धता गरिएको छ । व्यवसाय दर्ता, नवीकरण र करसम्बन्धी कामलाई सहज बनाउन सिंगल विन्डो सिस्टम र नाट्टा हेल्प डेस्कलाई प्रभावकारी बनाउने योजना छ ।

४.हवाई टिकटमा लाग्ने भ्याटको समस्या समाधान : हवाई टिकटमा लाग्ने भ्याटका कारण व्यवसायी र पर्यटन क्षेत्रमा परेको प्रभावबारे सरकारसँग छलफल गरी आवश्यक सुधारका लागि पहल गर्ने प्रतिबद्धता प्यानलले गरेको छ ।

५.अन्तर्राष्ट्रिय सम्बन्ध र सञ्जाल विस्तार : अन्तर्राष्ट्रिय पर्यटन व्यवसायी, संघसंस्था तथा साझेदारसँग सहकार्य बढाउने योजना छ । यसबाट नेपाली ट्राभल व्यवसायीका लागि नयाँ बजार र व्यावसायिक अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ ।

६. नाट्टा कार्यसमितिको पुनर्संरचना : नाट्टाको कार्यसमितिलाई थप प्रभावकारी बनाउँदै देशका विभिन्न प्रदेशका पर्यटन व्यवसायीको सहभागिता बढाउने प्रतिबद्धता गरिएको छ । नाट्टालाई देशभरका व्यवसायीको साझा संस्थाका रूपमा बलियो बनाउने योजना प्यानलको छ ।

७.‘स्मार्ट नाट्टा’ निर्माण : नाट्टाका सेवा र गतिविधिलाई प्रविधिमैत्री बनाउने योजना अघि सारिएको छ । सदस्यसँग सूचना आदानप्रदान सहज बनाउने तथा संस्थाका कामलाई डिजिटल प्रणालीमा लैजाने प्रतिबद्धता गरिएको छ । यसअन्तर्गत अनलाइन मतदान प्रणाली लागू गर्ने योजना पनि समेटिएको छ ।

८.गैरकानुनी तथा अवैधानिक क्रियाकलाप सम्बन्धमा : पर्यटन क्षेत्रमा हुने गैरकानुनी तथा अवैधानिक गतिविधि नियन्त्रणका लागि सम्बन्धित सरकारी निकायसँग सहकार्य गर्ने प्रतिबद्धता गरिएको छ । वैधानिक रूपमा व्यवसाय सञ्चालन गर्ने व्यवसायीको अधिकार संरक्षणमा जोड दिइएको छ ।

९.आउटबाउन्ड पर्यटनका समस्या समाधान : नेपाली नागरिक विदेश भ्रमणमा जाँदा व्यवसायी तथा यात्रुले भोग्ने समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने योजना छ । आउटबाउन्ड पर्यटन व्यवसायलाई व्यवस्थित र सुरक्षित बनाउन आवश्यक नीतिगत सुधारका लागि पहल गर्ने प्रतिबद्धता गरिएको छ ।

१०.आन्तरिक पर्यटन प्रवर्द्धन : नेपालभित्रका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरी आन्तरिक पर्यटन बढाउने योजना प्यानलले अघि सारेको छ । ट्राभल व्यवसायीमार्फत आन्तरिक पर्यटनका प्याकेज तथा नयाँ गन्तव्यको प्रचार गर्ने प्रतिबद्धता गरिएको छ ।

११. व्यवसायीको क्षमता अभिवृद्धि : नाट्टा एकेडेमीमार्फत पर्यटन व्यवसायीलाई तालिम तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने योजना छ । नयाँ प्रविधि, डिजिटल मार्केटिङ र कृत्रिम बुद्धिमत्तालगायत विषयमा व्यवसायीलाई जानकारी तथा सीप प्रदान गर्ने प्रतिबद्धता गरिएको छ ।

१२. पर्यटन व्यवसायको संस्थागत विकास : नाट्टालाई थप प्रभावकारी र व्यवसायीमैत्री संस्था बनाउँदै सदस्यको हितमा काम गर्ने प्रतिबद्धता प्यानलले जनाएको छ । व्यवसायीका समस्या सम्बन्धित निकायसम्म पुर्‍याउने, नीतिगत सुधारका लागि पहल गर्ने तथा पर्यटन क्षेत्रको विकासमा नाट्टाको भूमिका अझ बलियो बनाउने योजना अघि सारिएको छ ।

तुलाधार नेतृत्वको प्यानलले ८८‘सदस्यको विश्वास, एकताबद्ध नाट्टा, समृद्ध पर्यटन व्यवसाय’८८लाई मुख्य चुनावी नाराका रूपमा अघि सारेको छ । प्यानलले सदस्यको समस्या समाधानसँगै नाट्टालाई प्रविधिमैत्री, व्यवस्थित र अन्तर्राष्ट्रियस्तरमा प्रभावकारी संस्थाका रूपमा विकास गर्ने लक्ष्य सार्वजनिक गरेको छ ।

सम्बन्धित खबर

सिफारिस