
काठमाडौं । काठमाडौँ उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिने भएको छ । खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको गुनासो बढेपछि सरकारले काठमाडौँ उपत्यकाका ग्यास डिपो तथा बिक्री केन्द्रमा निगरानी बढाउने भएको हो ।
गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरी अनुगमन तथा निगरानी गर्ने तयारी गरिएको हो ।
भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा ग्यास अभाव देखाएर महँगोमा बिक्री गर्ने तथा ग्यास लुकाउने गरिएको भन्दै उद्योग मन्त्रालयमा उपभोक्ताबाट निरन्तर गुनासा तथा सूचना प्राप्त हुन थालेका छन् ।
ग्यासको आपूर्ति पर्याप्त हुँदाहुँदै पनि कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई तोकिएको मूल्यभन्दा बढी रकममा बिक्री गर्ने गतिविधि नियन्त्रणका लागि उद्योगमन्त्री यादवले गृहमन्त्री सुधन गुरुङसँग प्रहरीको सहयोग मागेका थिए ।
उद्योगमन्त्रीको आग्रहपछि गृहमन्त्री गुरुङले प्रहरी प्रशासनलाई ग्यास डिपो तथा बिक्री केन्द्रमा निगरानी बढाउन निर्देशन दिएका छन् । आवश्यकताअनुसार सादा पोसाकका प्रहरी परिचालन गरी कालोबजारी तथा कृत्रिम अभाव सिर्जना गर्ने गतिविधिमाथि निगरानी राख्न पनि निर्देशन दिइएको छ ।
सरकारले ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने तथा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने व्यवसायीमाथि कारबाही गर्ने तयारी गरेको छ ।
उपभोक्ताले सहज रूपमा खाना पकाउने ग्यास पाउने अवस्था सुनिश्चित गर्न बजार अनुगमनलाई थप प्रभावकारी बनाउने सरकारको तयारी छ ।