
सिराहा । सिराहाको गोलबजारबाट प्रतिबन्धित औषधि र लागुऔषध ब्राउनसुगरजस्तो देखिने खैरो पदार्थसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिराहा र इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको संयुक्त टोलीले शनिबार साँझ गोलबजार नगरपालिका-७, दुर्गा मन्दिर नजिकबाट १८ वर्षीय शिव प्रसाद राय कुर्मीलाई पक्राउ गरेको हो ।
मिर्चैया नगरपालिका-८ निवासी कुर्मीलाई शंका लागेर चेकजाँच गर्ने क्रममा उनले बोकेको सेतो बोराभित्र लुकाएर राखिएको ‘ONEREX-100 ML’ लेखिएको १३ बोतल प्रतिबन्धित औषधि र एक थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ।
यसैगरी, शनिबार राति गोलबजार नगरपालिका-८ स्थित पुरानो चोहर्वाबाट २३ वर्षीय जय कुमार नायक पक्राउ परेका छन् । गोलबजार नगरपालिका-६ निवासी नायक पैदल हिँडिरहेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ब्राउनसुगरजस्तो देखिने खैरो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बरामद पदार्थ प्लास्टिकसहित ६ ग्राम १४ मिलिग्राम र प्लास्टिकबाहेक ४ ग्राम ५७ मिलिग्राम रहेको छ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय गोलबजारमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।