
काठमाडौँ । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह तिलौराकोट सामुदायिक जंगलमा मृत अवस्थामा भेटिएका छन् । शुक्रबारदेखि सम्पर्कविहीन भएका ६५ वर्षीय सिंहको शव आइतबार बिहान जंगलको बीच भागमा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार सिंहको खोजी गर्ने क्रममा जंगलमा उनको शव भेटिएको थियो । उनले प्रयोग गर्ने मोटरसाइकल समेत जंगलमै फेला परेको प्रहरीले जनाएको छ ।
सिंह बुद्धभूमि नगरपालिकास्थित ढेकरी जंगलमा कृषि फर्म सञ्चालनका लागि भइरहेको कामको निरीक्षण गर्न जाने क्रममा सम्पर्कविहीन भएका थिए । जंगलमा छिटो पुग्ने उद्देश्यले फरक बाटो प्रयोग गर्ने क्रममा उनी बाटो अलमलिएको परिवारले जनाएको छ ।
परिवारका अनुसार सिंहले शुक्रबार साँझ करिब साढे ५ बजेसम्म मोबाइलमार्फत आफन्तसँग कुराकानी गर्दै आफू जंगलमा अलमलिएको जानकारी गराएका थिए । त्यसपछि भने उनीसँग सम्पर्क हुन सकेको थिएन।
सिंहको खोजीका लागि शनिबार दिनभर ८० भन्दा बढी नेपाल प्रहरी, करिब ५० जना सशस्त्र प्रहरी तथा सयभन्दा बढी स्थानीय परिचालन गरिएको थियो । लामो खोजीपछि आइतबार बिहान जंगलको बीच भागमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक मनोहर भट्टले जानकारी दिए ।
प्रहरीका अनुसार सिंहले प्रयोग गरेको लु १ प ७८७९ नम्बरको एभेन्जर मोटरसाइकल जंगलमा खोल्सो पार गर्न नसकेपछि खोल्साको वारि रोकिएको अवस्थामा फेला परेको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक भट्टले बताएका छन्।