
भक्तपुर । चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) ले विभिन्न इन्जिनियरिङ विधाका विद्यार्थीलाई बिदाइ गर्दै उत्कृष्ट विद्यार्थी तथा अनुसन्धानमूलक परियोजनालाई सम्मान गरेको छ। कलेजले आयोजना गरेको बिदाइ तथा उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रममा विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रसँगै हासिल गरेको ज्ञान, सीप, अनुसन्धान क्षमता र समस्या समाधान गर्ने दक्षतालाई व्यावसायिक जीवनमा प्रयोग गर्न आग्रह गरिएको हो ।
कलेजले २०२० ब्याचका ब्याचलर अफ सिभिल इन्जिनियरिङ (डिप्लोमा होल्डर) तथा २०२१ ब्याचका सिभिल, सिभिल एन्ड रुरल, कम्प्युटर, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स तथा इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङका विद्यार्थीलाई बिदाइ गरेको हो । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले शैक्षिक उपलब्धिसँगै विद्यार्थीले हासिल गरेको विषयगत दक्षता, अनुसन्धान तथा परियोजनामा गरेको योगदानलाई समेत सम्मानको आधार बनाएको थियो ।
कम्प्युटर इन्जिनियरिङतर्फ विष्णु शर्मा ३.९९ सीजीपीएसहित सर्वोत्कृष्ट विद्यार्थी बने । उनले चेयरमेन प्राइड अवार्डसँगै प्रोग्राम टपर, साइन्स अवार्ड र कम्प्युटर साइन्स अवार्ड प्राप्त गरे ।
त्यस्तै, सिभिल इन्जिनियरिङतर्फ ३.९७ सीजीपीएसहित सुजाता बोहरा प्रोग्राम टपर भइन्। उनले मेकानिक्स, प्रोग्रामिङ, वाटर, स्ट्रक्चर र म्याथम्याटिक्स अवार्डसमेत प्राप्त गरिन् । सिभिल एन्ड रुरल इन्जिनियरिङतर्फ सृष्टि चौधरी ३.८० सीजीपीएसहित तथा इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङतर्फ विजय पौडेल ३.८५ सीजीपीएसहित प्रोग्राम टपर घोषित भए। पौडेलले कम्युनिकेसन अवार्डसमेत प्राप्त गरे। इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङतर्फ घृष्णा निरौला ३.३६ सीजीपीएसहित प्रोग्राम टपर भइन् ।
उत्कृष्ट विद्यार्थीलाई कार्यक्रमका प्रमुख अतिथि पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डिन प्राध्यापक राजेशकुमार ठकुरानी, कलेजका कार्यवाहक प्राचार्य मोहनध्वज केसी, कलेज व्यवस्थापन समिति सदस्य प्राध्यापक सावित्री त्रिपाठी तथा विभिन्न विभागका प्रमुखले अवार्ड, प्रमाणपत्र र सम्मान प्रदान गरेका थिए ।
कार्यक्रममा विद्यार्थीले तयार पारेका अनुसन्धान तथा परियोजनामध्ये उत्कृष्ट परियोजनालाई समेत सम्मान गरिएको थियो । ऊर्जा, कृषि, वास्तुकला, जलस्रोत तथा संरचनासँग सम्बन्धित समसामयिक समस्या पहिचान गरी प्राविधिक समाधान खोज्ने उद्देश्यले तयार गरिएका परियोजनामध्ये विभिन्न विधाका परियोजना उत्कृष्ट घोषित भएका हुन् ।
इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङका दिपेन्द्र बोहरा, ग्रीष कुमार चौधरी, नेशनराज गडतौला र बशु धमलाले तयार पारेको ‘जीए–एएनएफआईएसद्वारा ट्युन गरिएको पीआईडी प्रविधि प्रयोग गरी इन्डक्सन मोटरको गति नियन्त्रणको परीक्षण तथा परम्परागत प्रविधिसँग तुलना’ शीर्षकको परियोजना उत्कृष्ट घोषित भयो ।
त्यस्तै, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङका अभिषेक कटवाल, मनिषकुमार यादव र नरेन्द्र भट्टको ‘सटीक कृषिका लागि एआईओटी आधारित वास्तविक-समय बाली सिफारिस प्रणाली’ परियोजना पनि उत्कृष्ट ठहरियो । उक्त परियोजनाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा इन्टरनेट अफ थिङ्स (आईओटी) लाई कृषि क्षेत्रमा प्रयोग गर्ने सम्भावना देखाएको छ ।
आर्किटेक्चरतर्फ सगुन कोइरालाको ‘बायोफिलिक रिसोर्ट, गोकर्णेश्वर, काठमाडौं’ परियोजना उत्कृष्ट घोषित भयो । सिभिल इन्जिनियरिङतर्फ अमृत केसी, मनोज पौडेल, तीर्थ पोखरेल, अमर सेन र विक्रम थापाको ‘कालीगण्डकी नदी जलाधार क्षेत्रमा जलवायु परिवर्तनको प्रभावसम्बन्धी जलशास्त्रीय मूल्याङ्कन’ परियोजनाले पनि उत्कृष्ट परियोजनाको सम्मान पायो ।
सिभिल एन्ड रुरल इन्जिनियरिङतर्फ जेनिश पुरी, मिङमार डोर्जे थोक्करा, निर्जल बोगटी र सन्देश रानाले तयार पारेको ‘विभिन्न रिड्युस्ड भेलेसिटीको प्रभावमा रहने बेलनाकार चिम्नीहरूमा गतिशील प्रतिक्रिया र भोर्टेक्स सेडिङ व्यवहारको सीएफडी आधारित अध्ययन’ परियोजना उत्कृष्ट घोषित भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्राध्यापक राजेशकुमार ठकुरानीले इन्जिनियरिङ शिक्षा समस्या बुझ्ने र त्यसको समाधान खोज्ने शिक्षा भएको बताए। विश्वविद्यालयबाट प्राप्त प्रमाणपत्रले मात्रै विद्यार्थीको सफलता निर्धारण नगर्ने उल्लेख गर्दै उनले व्यावसायिक जीवनमा हासिल गर्ने सफलता तथा समाज र राष्ट्रका लागि गर्ने योगदानले वास्तविक सफलता निर्धारण गर्ने धारणा राखे ।
कलेज व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले विद्यार्थीले कलेजमा हासिल गरेको ज्ञान र सीप देश तथा समाजको हितमा प्रयोग गर्न आग्रह गरे । कार्यवाहक प्राचार्य मोहनध्वज केसीले अध्ययन पूरा गरी व्यावसायिक क्षेत्रमा प्रवेश गर्न लागेका विद्यार्थीलाई आफूले सिकेको सीपको उचित सदुपयोग गर्न अनुरोध गरे ।
कलेज व्यवस्थापन समिति सदस्य प्राध्यापक सावित्री त्रिपाठीले उच्च शिक्षाका लागि विदेश गए पनि अवसर पाएपछि नेपाल फर्किएर देशकै लागि काम गर्न विद्यार्थीलाई आग्रह गरिन् । विद्यार्थीको व्यावसायिक सफलताले कलेजको प्रतिष्ठासमेत बढाउने उनको भनाइ थियो ।
बिदाइ कार्यक्रममा इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकलतर्फका अर्जुन मण्डल, इलेक्ट्रिकल तथा कम्युनिकेसनतर्फका विजय पौडेल, सिभिल एन्ड रुरलका आशिष फुयाल, सिभिल इन्जिनियरिङकी सुजाता बोहरा तथा कम्प्युटर इन्जिनियरिङकी अरूणा थापाले कलेजमा बिताएका क्षण, अनुभव र सिकाइ स्मरण गर्दै आफूले प्राप्त गरेको ज्ञान तथा सीपलाई व्यावहारिक जीवनमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित नेकले शैक्षिक नतिजासँगै अनुसन्धान, नवप्रवर्तन र व्यावहारिक परियोजनालाई प्राथमिकता दिँदै आएको जनाएको छ । कलेजमा आर्किटेक्चर, सिभिल, सिभिल एन्ड रुरल, कम्प्युटर, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स तथा इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङलगायत स्नातक तहका विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।