नाडा अटो शो: भृकुटीमण्डपमा २ सय स्टलमा अटोमोबाइलको प्रदर्शन हुँदै

दियोपोस्ट संवाददाता

काठमाडौँ । नाडा अटो शो २०२६ भाद्र ९ देखि भृकुटीमण्डपमा आयोजना हुने भएको छ । नेपाली अटोमोबाइल बजारमा नयाँ मोडल, प्रविधि र ब्रान्डको प्रदर्शन हुने बहुप्रतीक्षित नाडा अटो शो भाद्र ९  (मंगलबार) देखि भाद्र १४ (आइतबार) सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको हो ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्ने अटो शोको यो १८औँ संस्करण हो । नाडाको स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा आयोजना हुन लागेको यस प्रदर्शनीमा साना तथा ठुला गरी करिब २ सय वटा स्टल रहने आयोजकले जनाएको छ।

प्रदर्शनीमा विभिन्न सवारी साधनका ब्रान्डसँगै अटोमोबाइल क्षेत्रसँग सम्बन्धित नेपाली तथा विदेशी कम्पनीको सहभागिता रहनेछ । आयोजकका अनुसार २२ ब्रान्डका पेसेन्जर कार, १६ ब्रान्डका लाइट कमर्सियल भेहिकल र १२ ब्रान्डका दुईपांग्रे सवारीसाधन प्रदर्शनीमा राखिनेछन् ।

त्यस्तै, ८ नेपाली उत्पादकसहित ६९ वटा कम्पोनेन्ट तथा अन्य सरोकारवाला व्यवसायीले आफ्ना उत्पादन तथा सेवा प्रदर्शनीमा प्रस्तुत गर्नेछन् ।

पछिल्लो समय सुस्त देखिएको नेपाली अटोमोबाइल बजारलाई पुनः गति दिन अटो शोले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा आयोजकको छ । प्रदर्शनीमा स्वदेशी उत्पादनदेखि अन्तर्राष्ट्रिय ब्रान्डसम्मको सहभागिता रहने भएकाले उपभोक्ताले एउटै स्थलबाट विभिन्न सवारीसाधन, प्रविधि तथा अटो मोबाइल सम्बन्धी उत्पादनबारे जानकारी लिन सक्नेछन् ।

६ दिनसम्म सञ्चालन हुने अटो शोले नयाँ सवारीसाधनप्रतिको उपभोक्ताको आकर्षण बढाउनुका साथै अटोमोबाइल व्यवसायी, उत्पादक, वितरक र ग्राहकबीच प्रत्यक्ष सम्पर्कको अवसर सिर्जना गर्ने आयोजकको विश्वास रहेको छ ।