ट्रम्पको गाजासम्बन्धी १५ बुँदे योजना इजरायलद्वारा अस्वीकार

दियोपोस्ट संवाददाता

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको गाजासम्बन्धी १५ बुँदे योजना अस्वीकार गरेका छन् । आइतबार बसेको इजरायली मन्त्रिपरिषद्को बैठकमा नेतन्याहूले हमास पूर्ण रूपमा निःशस्त्र नभएसम्म गाजाबाट इजरायली सेना फिर्ता नहुने बताएका हुन् ।

उनले हमासलाई वास्तविक रूपमा निःशस्त्र नबनाएसम्म इजरायली सेना गाजामै रहने र आफ्ना नागरिकमाथि हुन सक्ने  खतरालाई रोक्न निरन्तर काम गर्ने बताएका छन् ।

यसैबीच, हमासका एक अधिकारीले आफूहरू सम्झौताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । आइतबार बिबिसीसँग कुरा गर्दै उनले ट्रम्पको १५ बुँदे योजना कार्यान्वयनका लागि आफूहरू गम्भीर र जिम्मेवार ढंगले काम गर्न तयार रहेको बताएका हुन् ।

गत महिना ट्रम्पको ‘बोर्ड अफ पीस’ले गाजामा सक्रिय हमास तथा अन्य सशस्त्र समूहको पूर्ण निःशस्त्रीकरणका विषयमा सहमति भएको जनाएको थियो ।

तर, हमासले इजरायलले सबै प्रकारका आक्रमण अन्त्य गरी गाजाबाट आफ्ना सेना फिर्ता गरेपछि मात्रै आफ्ना ठूला हतियार हस्तान्तरण गर्ने बताउँदै आएको छ।

गत अक्टोबरमा प्रारम्भिक युद्धविरामका लागि सहमति भए पनि इजरायलले गाजामा आक्रमण जारी राखेको हमासको आरोप छ।

यसैबीच, सबै पक्षले आफ्ना प्रतिबद्धता पालना गरेको सुनिश्चित गर्न हमासले मध्यस्थकर्ताहरूलाई आग्रह गरेको छ।

सिफारिस