
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा सोमबार भएको भेटवार्तामा नेपाल-भारतबीचको द्विपक्षीय सम्बन्ध, विकास साझेदारी तथा आपसी सहकार्यका विषयमा छलफल भएको हो ।
करिब ४५ मिनेट चलेको भेटवार्तामा दुवै देशका प्रतिनिधिको सहभागिता रहेको थियो । भेटका क्रममा नेपाल र भारतबीचको ऐतिहासिक मित्रता, पारस्परिक हित, विकास निर्माण तथा सहकार्यका विविध पक्षमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना दिँदै नेपाल-भारत सम्बन्धलाई थप सुदृढ र प्रभावकारी बनाउँदै सहकार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
प्रधानमन्त्री शाहले पनि नेपाल र भारतबीच रहँदै आएको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका थिए ।