स्रोत नखुलेको २३ लाखभन्दा बढी नगदसहित काठमाडौँबाट दुई जना पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट स्रोत नखुलेको २३ लाख ९८ हजार रुपैयाँ नगदसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौँ महानगरपालिका-२६ बाट स्रोत नखुलेको १९ लाख ९४ हजार रुपैयाँसहित स्याङ्जाको वालिङ नगरपालिका-६ घर भई हाल काठमाडौँको बानेश्वर बस्ने ४१ वर्षीय ईश्वर थापा पक्राउ परेका छन् ।

प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले केशरमहलतर्फ आउँदै गरेको बा.प्र.०२९०४२ प ५२०७ नम्बरको स्कुटर जाँच गर्ने क्रममा थापालाई उक्त रकमसहित उनलाई आइतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी, काठमाडौँ महानगरपालिका-२८ स्थित कमलादी गणेश मन्दिर नजिकबाट स्रोत नखुलेको ४ लाख ८ हजार रुपैयाँसहित ४२ वर्षीय सुदर्शन खड्का पक्राउ परेका छन् । कपन बस्ने खड्कालाई प्रहरीले गएराति पक्राउ गरेको हो ।

प्रहरी वृत्त मालीगाउँबाट खटिएको टोलीले खड्कालाई उक्त रकमसहित पक्राउ गरेको हो । प्रहरीले उनले प्रयोग गरेको बागमती एएए ७७२० नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ।

पक्राउ परेका दुवै जनामाथि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

सिफारिस