
काठमाडौँ । पाल्पाको तिनाउ गाउँपालिका-४, चिउरीडाँडास्थित झुम्सा-सत्यवती सडकखण्डमा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सोमबार बिहान पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज २२३७ नम्बरको मुस्ताङ जिप दुर्घटनामा परेको हो ।
दुर्घटनामा तिनाउ गाउँपालिका-३, सत्यवतीका ३६ वर्षीय खुमबहादुर दिसुवा, ५१ वर्षीय नरसिंह दिसुवा र ३६ वर्षीया शर्मिला दिसुवा घाइते भएका छन् । त्यस्तै, स्याङ्जाको कालीगण्डकी गाउँपालिका-१ का १० वर्षीय सन्तोष रेश्मी र भुवनसिंह रेश्मी, रुपन्देहीको बुटवल उपमहानगरपालिका-१८ का ३६ वर्षीय दुर्गा थापा, चार वर्षीय डेनिस थापा र ३६ वर्षीया सपना राना पनि घाइते भएका छन् ।
यस्तै, माथागढी गाउँपालिका-५ का ४१ वर्षीय मनबहादुर गाहा र जिप चालक ३९ वर्षीय देवकुमार घर्तीसमेत दुर्घटनामा घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार घाइतेमध्ये चार वर्षीय डेनिस थापाको अवस्था गम्भीर रहेको छ ।
घाइते सबैको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।