
काठमाडौँ । दोलखाको यलुङ री हिमालमा नौ महिनाअघि हिमपहिरोमा परी बेपत्ता भएका पाँच जनाको शव फेला परेको छ । हिउँ पग्लिएपछि गत साता सतहमा शव देखिएको र आइतबार उद्धार गरी तल ल्याइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार फेला परेका शवमध्ये दुई जना नेपाली गाइड तथा तीन जना विदेशी आरोहीका छन् । क्यानडाका मार्को डी मार्सेलो, इटलीका मर्कस करचिलर र जर्मनीका ज्याकोब इसरिवरको शव पहिचान भएको प्रहरीले जनाएको छ । त्यस्तै नेपाली दोलखाको गौरीशङ्कर गाउँपालिका-९ पदम तामाङ र सोलुखुम्बुको माप्यदुधकुण्ड गाउँपालिका- ५ का मेर कार्की रहेका छन् ।
तीन विदेशी आरोही र एक नेपाली पथप्रदर्शकको शव काठमाडौँ ल्याइएको छ । दोलखा घर भएका पथप्रदर्शक तामाङको शव चरिकोटमा पोस्टमार्टम गरिने बताइएको छ ।
गत साताको अन्तिमतिर स्थानीयवासीले हिमपहिरो गएको क्षेत्रमा शव देखिएको जानकारी प्रहरीलाई दिएका थिए । तर प्रतिकूल मौसमका कारण उद्धार टोली तत्काल घटनास्थल पुग्न सकेको थिएन । आइतबार बिहान छोटो समय मौसम खुलेपछि उद्धार टोलीले छिटोछिटो शव तल झारेको हो ।
मृत भेटिएका उनीहरू गत वर्ष कात्तिक १७ गते यलुङ री हिमाल आरोहणका क्रममा आधार शिविर नजिकै गएको हिमपहिरोमा परी बेपत्ता भएका थिए । त्यसबेला आरोहण टोलीका १५ जना हिमपहिरोमा फसेका थिए । जसमध्ये आठ जनालाई घाइते अवस्थामा उद्धार गरिएको थियो भने इटली र फ्रान्सका दुई आरोहीको शव त्यतिबेलै निकालिएको थियो ।