
काठमाडौैँ । ‘नाइमा मोबिलिटी एक्स्पो, २०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ । काठमाडौँको भृकुटीमण्डपमा साउन २६ गतेदेखि ३१ गतेसम्म आयोजना हुन लागेको बृहत् प्रदर्शनीका लागि स्टल निर्माण, सजावट र व्यवस्थापनका कामहरू अन्तिम चरणमा पुगेको हो ।
यस पटकको एक्स्पोमा गाडीहरूको प्रदर्शनी मात्रै हुने छैन, यो नेपालको भावी यातायात प्रणालीको स्पष्ट मार्गचित्र पनि हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार यस वर्ष ५१ वटा अत्याधुनिक स्टलमार्फत ५५ भन्दा बढी चर्चित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूले एक्सपोमा भाग लिँदै छन् ।
एक्स्पोको सबैभन्दा ठुलो आकर्षण ४० भन्दा बढी नयाँ सवारीसाधनहरूको ग्राण्ड लन्चिङ रहने छ । अटो बजारलाई नयाँ गति दिन दुई पांग्रेतर्फ १८ र चार पाङ्ग्रेतर्फ २९ वटा नयाँ ब्रान्डहरू यसै मञ्चमार्फत नेपाली उपभोक्तामाझ सार्वजनिक हुने तयारीमा छ ।

मध्यमदेखि उच्च वर्गसम्मका ग्राहकलाई लक्षित गर्दै प्रदर्शनीमा २० लाख रुपैयाँदेखि साढे ३ करोड रुपैयाँसम्म पर्ने अत्याधुनिक विद्युतीय तथा हाइब्रिड सवारीसाधनहरू प्रदर्शनीमा राखिने तयारी भएको छ ।
यस पटकको एक्स्पोमा सवारीसाधनको प्रदर्शनी मात्रै नभएर डिजिटल टिकटमा क्यासब्याक स्वादिष्ट खानाका लागि फुड कोर्ट र नयाँ प्रविधि बुझ्नका लागि स्टल र जानकारी केन्द्र समेत रहने छ ।
एक्सो अवधिभर अर्थात् साउन २६ देखि ३१ गतेसम्म सञ्चालन हुने ६ दिने विशेष कार्यक्रमहरू यस पटकको नाइमा मोबिलिटी एक्स्पोको अर्को मुख्य आकर्षण हुने आयोजकले जनाएको छ । एक्स्पोमा अटोमोबाइल उद्योगका विज्ञ, नीति निर्माता र सर्वसाधारणबिच विभिन्न लर्निङ सेसन, पोलिसी डाइलग र प्रत्यक्ष अन्तरक्रियात्मक कार्यक्रमहरू हुनेछन् । यी छलफलहरूले नेपालमा ईभी पूर्वाधार, चार्जिङ स्टेसनको बिस्तार, ब्याट्रीको व्यवस्थापन र भविष्य तथा सरकारी नीतिहरूबारे ठोस निष्कर्ष निकाल्न मद्दत पुर्याउने दाबी गरिएको छ ।

सन् २०२५ को एक्स्पोमा एक लाखभन्दा बढी सेवाग्राही तथा दर्शकले प्रत्यक्ष अवलोकन गरेकामा यस पटक यो सङ्ख्यामा अझै वृद्धि हुने आयोजकको अपेक्षा रहेको छ । यस पटक प्रविधिमा आएको परिवर्तन र आकर्षणका कारण एक्स्पो हेर्न आउने आगन्तुकको सङ्ख्या उल्लेख्य रूपमा बढ्ने आयोजकको विश्वास छ ।
यस पटकको एक्स्पोमा नयाँ ईभी, हाइब्रिड, कमर्सियल सवारी, आधुनिक चार्जिङ प्रविधि र अन्य स्मार्ट मोबिलिटीहरू प्रत्यक्ष अवलोकन गर्न पाउनेछन् । यो एक्स्पोले भोलिको सफा, सुरक्षित र आधुनिक यातायात प्रणालीको हिस्सा बन्नमा सहयोग पुराउने भन्दै नाइमा मोबिलिटी एक्स्पो, २०२६ मा उपस्थितिका लागि आयोजकले आग्रह गरेको छ ।