जबर्जस्ती करणी तथा मानव बेचबिखनका फरार आरोपी कतारबाट पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती करणीसम्बन्धी मुद्दामा फरार रहेका धनुषास्थित धनौजी गाउँपालिका-५ का ताहिर राइन पक्राउ परेका छन् । आरोपी राइन इन्टरपोलमार्फत कतारबाट पक्राउ परेका हुन् ।

राइनलाई कतार एयरवेजको उडानमार्फत सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सोमबार नेपाल ल्याइएको प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागले जनाएको छ । इन्टरपोल महासचिवालयले गत जुलाई २८ मा राइनविरुद्ध रेड नोटिस जारी गरेको थियो ।

विमानस्थलमा इन्टरपोल शाखा (एनसीबी काठमाडौं) बाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषा पठाएको छ ।

राइनमाथि एक युवतीलाई स्कार्पियोमा राखेर भारतको दिल्ली लैजान लागेको आरोप छ । घटनापछि राइन फरार रहेका थिए। युवतीलाई स्थानीयको पहलमा उद्धार गरिएको र राइनमाथि मानव बेचबिखन तथा जबर्जस्ती करणीको आरोपमा अनुसन्धान भइरहेको बताइएको छ ।

अनुसन्धानका क्रममा उनको खोजीका लागि इन्टरपोलमार्फत रेड नोटिस जारी गरिएको प्रहरीले जनाएको छ । कतारबाट पक्राउ गरी नेपाल ल्याइएका राइनलाई जिल्ला प्रहरी कार्यालय धनुषाले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।