कालिकोटमा अटो दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

दियोपोस्ट संवाददाता

कालिकोट ।  कालिकोटमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सोमबार खाँडाचक्र नगरपालिका-७ मेलस्थित सुर्खेत-जुम्ला सडकखण्डमा कर्णाली प्रदेश ०२००१ ह ११९४ नम्बरको अटो दुर्घटनामा परेको हो ।

अटोमा चालकसहित पाँच जना सवार रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा महाबै गाउँपालिका-५ गेलाका ३५ वर्षीय मंगल शाही गम्भीर घाइते भएका थिए । थप उपचारका लागि जुम्ला लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

दुर्घटनामा महाबै-५ गेलाकी २५ वर्षीया सविना शाही, २९ वर्षीय कुलप्रसाद भट्टराई र महाबै-६ की प्रतिमा आचार्य घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।