स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ

दियोपोस्ट संवाददाता

वीरगञ्ज । पर्सा प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका-१० आदर्शनगरस्थित विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत बिहार राज्यको सितामढी जिल्ला, थाना डुमरा वडा नं. ६ का २६ वर्षीय सुरज कर्ण, बारा प्रसौनी गाउँपालिका-१ का ३२ वर्षीय उपेन्द्र साह, प्रसौनी गाउँपालिका-७ का २६ वर्षीय सागर कुमार सर्राफ र पर्सा बिन्दवासिनी गाउँपालिका-१ झौवागुठीका २५ वर्षीय राहुल कुमार गुप्ता रहेका छन् ।

प्रहरीका अनुसार सोमबार साँझ करिब ६ः३० बजे प्रदेश २-०३-००३ प ७३२५ नम्बरको कालो रङको सुपर स्प्लेन्डर र ना.७५ प ५१५२ नम्बरको निलो रङको एफजेड मोटरसाइकलमा सवार चार जनालाई नियन्त्रणमा लिई खानतलासी गर्दा स्रोत नखुलेको रकम बरामद भएको हो ।

प्रहरीले उनीहरूको साथबाट एक हजार दरका नोट ४०५ थान, ५०० दरका नोट २३६३ थान, १०० दरका नोट ६४३ थान र ५० दरका नोट ८४ थान बरामद गरेको जनाएको छ। बरामद रकमको कुल मूल्य ५२ लाख ५० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, प्रहरीले उनीहरूले प्रयोग गरेका प्रदेश २-०३-००३ प ७३२५ र ना.७५ प ५१५२ नम्बरका दुईवटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ  ।

पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए  ।

सिफारिस