
काठमाडौँ । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी निधन भएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ । किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजको उडानमार्फत आज अपराह्न ४ः४५ बजे काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपहिरोमा परी उनीहरूको निधन भएको थियो। दुर्घटनामा निधन भएका पुरबहादुर गुरुङ ‘युक्त’को शव भने यसअघि नै साउन २१ गते नेपाल ल्याइसकिएको छ ।
ब्रोड पिक हिमपहिरोमा परी निधन भएका अर्का नेपाली आरोही निर्मल पुर्जा ‘निम्स दाइ’को शव भने बेलायत पठाइएको छ । पुर्जाको परिवार बेलायतमा रहेकाले परिवारकै इच्छाअनुसार अन्तिम संस्कारका लागि आइतबार उनको शव लागि बेलायत पठाइएको हो ।
उद्धारमा कठिनाइ भएपछि केही समयसम्म पुर्जाको शव ब्रोड पिकमै रहेको थियो । प्रतिकूल मौसम, हिमपहिरोको जोखिम र कठिन भौगोलिक अवस्थाका कारण शव तत्काल उद्धार गर्न नसकिएको उद्धारमा संलग्न अधिकारीहरूले बताएका थिए ।
उद्धार टोलीले पछि पुर्जासहित अन्य आरोहीको शव ब्रोड पिकको आधार शिविरसम्म ल्याएको थियो । त्यसपछि आवश्यक कानुनी तथा कागजी प्रक्रिया पूरा गरी उनको शव इस्लामाबादबाट बेलायत पठाइएको हो ।
यसैबीच, ब्रोड पिक दुर्घटनामा निधन भएका एक नेपालीसहित केही आरोहीको शव भने अझै उद्धार गर्न बाँकी रहेको जनाइएको छ। घटनास्थलको कठिन भौगोलिक अवस्था र मौसमका कारण बाँकी शव उद्धारमा चुनौती रहेको बताइएको छ ।
ब्रोड पिक हिमपहिरोमा परी नेपालीसहित विभिन्न देशका आरोहीको ज्यान गएको थियो । घटनापछि सम्बन्धित मुलुकका सरकारी निकाय, उद्धार टोली तथा कूटनीतिक नियोगको समन्वयमा शव उद्धार तथा स्वदेश फिर्ताको प्रक्रिया अघि बढाइएको थियो ।