
काठमाडौँ । ‘नाइमा मोबिलिटी एक्स्पो-२०२६’ आजदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ । ६ दिनसम्म सञ्चालन हुने एक्स्पो साउन ३१ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।
यस वर्षको एक्स्पोमा सवारीसाधनको प्रदर्शनीसँगै नेपालको भावी यातायात प्रणाली र मोबिलिटी क्षेत्रको सम्भावनाबारे समेत जानकारी तथा छलफल हुने आयोजकले जनाएको छ । एक्स्पोमा ५१ वटा अत्याधुनिक स्टलमार्फत ५५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्ड सहभागी भएका छन् ।
एक्स्पोको मुख्य आकर्षणका रूपमा ४० भन्दा बढी नयाँ सवारीसाधनको ग्राण्ड लन्चिङ हुने भएको छ । दुईपाङ्ग्रेतर्फ १८ र चारपाङ्ग्रेतर्फ २९ वटा नयाँ ब्रान्ड तथा मोडल नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरिएको आयोजकले जनाएको छ ।
एक्स्पोमा २० लाख रुपैयाँदेखि साढे ३ करोड रुपैयाँसम्म मूल्य पर्ने विद्युतीय तथा हाइब्रिड सवारीसाधन प्रदर्शनमा राखिनेछन् । मध्यमदेखि उच्च वर्गसम्मका ग्राहकलाई लक्षित गर्दै नयाँ ईभी, हाइब्रिड, कमर्सियल सवारीसाधन, आधुनिक चार्जिङ प्रविधि तथा स्मार्ट मोबिलिटीका उपकरणहरू प्रदर्शनीमा राखिएका छन् ।
एक्स्पोमा सवारीसाधनबाहेक डिजिटल टिकटमा क्यासब्याक, फुड कोर्ट तथा नयाँ प्रविधिबारे जानकारी दिने स्टल र सूचना केन्द्रसमेत राखिएको छ ।
एक्स्पो अवधिभर अटोमोबाइल उद्योगका विज्ञ, नीति निर्माता तथा सर्वसाधारणबीच विभिन्न लर्निङ सेसन, पोलिसी डाइलग तथा प्रत्यक्ष अन्तरक्रियात्मक कार्यक्रम आयोजना हुनेछन् । ती कार्यक्रममार्फत नेपालमा ईभी पूर्वाधार, चार्जिङ स्टेसनको विस्तार, ब्याट्री व्यवस्थापन तथा सरकारी नीतिबारे छलफल हुने आयोजकले जनाएको छ ।