
काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टबीच नेपाल-अष्ट्रेलिया सहकार्य विस्तारका विषयमा छलफल भएको छ ।
मंगलबार मन्त्रालयमा भएको शिष्टाचार भेटमा महिला सशक्तीकरण, बालअधिकार तथा संरक्षण, अपाङ्गता समावेशीकरण, सामाजिक सुरक्षा, हेरचाह अर्थतन्त्र, मानव संसाधन विकास तथा नीतिगत अनुभव आदानप्रदानलगायतका क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको हो ।
मन्त्री बादीले राजदूत अर्न्स्टलाई मन्त्रालयमा स्वागत गर्दै उनको नेपाल बसाइ सफल र सुखद रहोस् भन्ने शुभकामना दिइन् । नेपाल र अष्ट्रेलियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मैत्रीपूर्ण र सौहार्दपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गर्दै उनले आगामी दिनमा द्विपक्षीय सहकार्यलाई थप परिणाममुखी बनाउनुपर्नेमा जोड दिइन् ।
उनले शिक्षा, मानव विकास, सुशासन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका क्षेत्रमा अष्ट्रेलियाले नेपाललाई गर्दै आएको विकास सहयोगप्रति धन्यवाद व्यक्त गरिन् । अष्ट्रेलियाको सहयोगमा सञ्चालित लघु उद्यम विकास कार्यक्रमले गरिब तथा सामाजिक रूपमा सीमान्तकृत समुदाय, विशेषगरी महिलाको सीप, उद्यमशीलता र वित्तीय पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्याएको मन्त्री बादीले बताइन् ।
त्यस्तै, अष्ट्रेलियाको छात्रवृत्ति कार्यक्रमबाट नेपाली विद्यार्थी, अनुसन्धानकर्ता, विभिन्न क्षेत्रका पेसाकर्मी तथा सरकारी कर्मचारीको ज्ञान, सीप र व्यावसायिक क्षमता अभिवृद्धिमा योगदान पुगेको उनले उल्लेख गरिन्। यसबाट नीति निर्माण, कार्यान्वयन तथा सार्वजनिक सेवा प्रवाहमा समेत सकारात्मक प्रभाव परेको उनको भनाइ थियो ।
भेटमा अपाङ्गता भएका बालबालिकाको संरक्षण, विकास तथा समावेशीकरणका विषयमा पनि छलफल भएको थियो। मन्त्री बादीले अपाङ्गता भएका बालबालिकाका लागि आवश्यक सहायक प्रविधिको पहुँच विस्तार, अपाङ्गतासम्बन्धी तथ्याङ्क तथा सूचना प्रणाली सुदृढीकरण र संस्थागत क्षमता विकासमा अष्ट्रेलियाको अनुभव तथा प्राविधिक ज्ञान उपयोगी हुने बताइन् ।
सामाजिक सुरक्षा र हेरचाह अर्थतन्त्रबीचको अन्तरसम्बन्धबारे चर्चा गर्दै मन्त्री बादीले महिलाले घरायसी तथा हेरचाहका क्षेत्रमा गर्दै आएको योगदानलाई आर्थिक रूपमा पहिचान र मूल्याङ्कन गर्न आवश्यक रहेको बताइन्। नेपालमा हेरचाह अर्थतन्त्रको विकास तथा महिलाको घरायसी र हेरचाहसम्बन्धी कार्यको आर्थिक गणनालगायत विषय समेटेर राष्ट्रिय अर्थतन्त्र प्रवर्द्धनसम्बन्धी नीति तर्जुमा भइरहेको जानकारी दिँदै उनले यस क्षेत्रमा अष्ट्रेलियाको नीतिगत अनुभव, अभ्यास तथा प्राविधिक ज्ञान उपयोगी हुने धारणा राखिन् ।
मन्त्री बादीले नेपाल-अष्ट्रेलिया सम्बन्धलाई विकास सहयोगमा मात्र सीमित नराखी प्रविधि तथा नीतिगत अनुभव आदानप्रदान, संस्थागत क्षमता विकास र जनस्तरको सम्बन्ध विस्तारसहितको पारस्परिक साझेदारीका रूपमा अघि बढाउनुपर्नेमा जोड दिइन् ।
भेटमा राजदूत अर्न्स्टले नेपाल-अष्ट्रेलियाबीच भइरहेको सहकार्यको महत्व उल्लेख गर्दै आपसी हित र प्राथमिकताका क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी बनाउँदै लैजान सकारात्मक धारणा व्यक्त गरे ।

