
काठमाडौँ । सामान्यतया राजनीतिक तथा विद्यार्थी संगठनहरूमा अध्यक्षले मातहतका नेताहरूमाथि कारबाही गर्ने परिपाटी रहे पनि नेकपा बहुमत नामक पार्टी निकट अखिल (क्रान्तिकारी) मा भने महासचिवले नै अध्यक्षलाई जिम्मेवारीबाट हटाएको एउटा अनौठो घटना सार्वजनिक भएको छ। राजावादी मुद्दा बोक्नेहरूलाई संरक्षण गरेको आरोप लगाउँदै संगठनका महासचिव उषाकिरण आजाद कामीले अध्यक्ष वीरेन्द्र शाहसहित तीन जना शीर्ष नेताहरूलाई सम्पूर्ण संगठनात्मक जिम्मेवारीबाट पदमुक्त गरेका छन्।
अध्यक्षभन्दा तल्लो कार्यकारी पदमा रहने महासचिवले संगठनका प्रमुख (अध्यक्ष) लाई नै पदमुक्त गरेको यो कदमलाई विद्यार्थी राजनीतिभित्र निकै असामान्य र चकित पार्ने घटनाका रूपमा हेरिएको छ। महासचिव उषाकिरण आजाद कामीद्वारा जारी वक्तव्यअनुसार अध्यक्ष वीरेन्द्र शाह, रूपा बुढामगर र डिबी शाहीलाई संगठनको जिम्मेवारीबाट हटाइएको हो।
संगठनभित्र अराजकता र अनुशासनहीनता बढेको दाबी गर्दै जारी गरिएको वक्तव्यमा संगठनको नीति, विधि, पद्धति र सामूहिक निर्णयलाई कमजोर पार्ने गतिविधि कुनै पनि बहानामा स्वीकार गर्न नसकिने स्पष्ट पारिएको छ।
पदमुक्त गरिएका अध्यक्ष शाहसहितका नेताहरूमाथि संगठनभित्र गुटबन्दी सिर्जना गरेको, संगठनात्मक निर्णयभन्दा व्यक्तिवादी निर्णय हाबी गराएको, पदको दुरुपयोग गरेको र संगठनको प्रतिष्ठामा आँच पुर्याएको गम्भीर आरोप लगाइएको छ। यसका साथै, संगठनको घोषित क्रान्तिकारी आदर्श र राजनीतिक कार्यदिशाबाट विचलित हुँदै जातिवाद, क्षेत्रीयतावाद, अर्थवाद, अराजकतावाद तथा सामन्तवादी–प्रतिक्रियावादी प्रवृत्तिलाई प्रश्रय दिएको वक्तव्यमा उल्लेख छ।
यस किसिमको अप्रत्याशित कारबाहीअघि केन्द्रीय पदाधिकारीहरूको आकस्मिक बैठक बसेको र सम्बन्धित तल्ला कमिटीहरूसँग आवश्यक परामर्श तथा छलफल गरिएको संगठनले दाबी गरेको छ।
अध्यक्ष पदमुक्त भएसँगै सिर्जित नयाँ परिस्थितिमा अर्को निर्णय नभएसम्मका लागि संगठनको दैनिक कार्यसञ्चालन महासचिव तथा कार्यालय प्रमुख उषाकिरण आजाद कामी आफैँले गर्ने निर्णय भएको छ।
अखिल (क्रान्तिकारी) ले विद्यार्थी आन्दोलनलाई थप एकताबद्ध, अनुशासित र संघर्षशील बनाउने घोषणा गर्दै संगठनभित्रको यो आन्तरिक हलचलपछि फैलाइने भ्रम र अराजकताबाट सचेत रहन आम विद्यार्थीहरूलाई अपिलसमेत गरेको छ।