
काठमाडौँ । चेक अनादर मुद्दामा फरार रहेका एक जना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा हाल ललितपुरको महालक्ष्मी नगरपालिका-५ बस्ने मोरङ उर्लाबारी नगरपालिका-५ घर भएका ४५ वर्षीय गोविन्द खत्री रहेका छन् ।
खत्रीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले मंगलबार ललितपुर महानगरपालिका-४ जावलाखेलबाट पक्राउ गरेको हो ।
जिल्ला अदालत काठमाडौँ, बबरमहलको २०८० माघ ११ गतेको फैसलाले उनलाई २ करोड ५३ लाख १ हजार ९ सय १८ रुपैयाँ बिगो, २ वर्ष कैद र २ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । फैसला भएदेखि उनी फरार रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका खत्रीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँ, बबरमहलमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।