
काठमाडौँ । जापान पठाइदिने भन्दै ११५ जनाबाट २ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा ‘ग्याट्सबी इन्टरनेसनल’ प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रतीक बुढाथोकी पक्राउ परेका छन् ।
ललितपुरको महालक्ष्मी नगरपालिका-७ चाङ्गाथलीका २९ वर्षीय बुढाथोकीलाई वैदेशिक रोजगार विभागबाट जारी पक्राउ पुर्जीका आधारमा सोमबार बुटवलबाट पक्राउ गरिएको हो ।
बुढाथोकीले ग्याट्सबी इन्टरनेसनल प्रालि नामक कन्सल्टेन्सीमार्फत ११५ जनालाई जापान पठाइदिने भन्दै उनीहरूबाट २ करोड ८० लाख रुपैयाँ रकम लिएको आरोप छ ।
पक्राउ परेका बुढाथोकीमाथि वैदेशिक रोजगारसम्बन्धी ठगीको कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।