
काठमाडौं । आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको ‘नाइमा मोबिलिटी एक्स्पो-२०२६’ को अवसरमा ग्लोबल आइएमई बैंकले व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना ल्याएको छ ।
बैंकले एक्स्पोको अवसर पारेर व्यक्तिगत गाडी कर्जामा न्यूनतम ५ दशमलव २५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराएको हो ।
बैंकका अनुसार हालको आधारदरअनुसार कर्जाको न्यूनतम ब्याजदर ५ दशमलव २५ प्रतिशत कायम हुनेछ । आधारदर घटबढ भएअनुसार कर्जाको ब्याजदर पनि स्वतः समायोजन हुने बैंकले जनाएको छ ।
योजनाअन्तर्गत नाइमा अटो एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम शून्य दशमलव ५ प्रतिशत प्रिमियम थप गरी कर्जा पाउनेछन् ।
त्यस्तै, नयाँ विद्युतीय (ईभी) गाडी खरिद गर्ने ग्राहकका लागि बैंकले तीन वर्षका लागि ५ दशमलव ९९ प्रतिशत स्थिर ब्याजदरको योजना ल्याएको छ । तीन वर्षपछि भने उक्त कर्जाको ब्याजदर बैंकको आधारदरमा अधिकतम २ प्रतिशत प्रिमियम थप हुने व्यवस्था गरिएको छ ।
साथै, बैंकले एक्स्पोमा आफ्नो स्टलसमेत राखेको छ । उक्त स्टलबाटै गाडी खरिद गर्न इच्छुक ग्राहकले कर्जाका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
ग्राहकले आवश्यक कागजात पूरा गरेपछि गाडी खरिदका लागि बैंकले अधिकतम तीन दिनभित्र कर्जा स्वीकृतिपत्र उपलब्ध गराउने व्यवस्था गरेको छ ।