सुनसरी र सिरहाको प्रदर्शनमा मृत्यु भएका चार जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

दियोपोस्ट संवाददाता

काठमाडौँ । सरकारले सुनसरी र सिरहामा भएका प्रदर्शनका क्रममा प्रहरीको गोली तथा झडपमा परी मृत्यु भएका चार जनालाई शहीद घोषणा गरेको छ ।  मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्रकुमार मेहता तथा सिरहाका गणेशकुमार यादवलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै प्रदर्शनका क्रममा मृत्यु भएका चारै जनालाई शहीद घोषणा गरिएको जानकारी दिए ।

साउन ९ गते राति दुई समुदायबीच भएको झडपका क्रममा सुनसरीको देवानगञ्ज-३, कप्तानगञ्जमा ओमप्रकाश मेहताको मृत्यु भएको थियो। झडपमा घाइते भएका जयप्रकाश मेहताको विराटनगरमा उपचारका क्रममा तथा रवीन्द्रकुमार मेहताको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

देवानगञ्जको घटनापछि भड्किएको हिंसाका क्रममा सिरहाको गोलबजारमा भएको प्रदर्शनमा गणेशकुमार यादवको पनि मृत्यु भएको थियो ।

गृहमन्त्री सुधन गुरुङले मृतकका परिवारसँग राहत तथा क्षतिपूर्तिलगायतका विषयमा सहमति गरेका थिए । सोही सहमतिअनुसार सरकारले मृतक चारै जनालाई शहीद घोषणा गरेको हो ।