नेपाली जनसम्पर्क समिति फ्रान्सको अध्यक्षमा शिवराम भण्डारी

दियोपोस्ट संवाददाता

पेरिस । नेपाली जनसम्पर्क समिति फ्रान्सको तेस्रो अधिवेशनले शिवराम भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । ९ अगस्ट २०२६ मा पेरिसमा सम्पन्न अधिवेशनले संस्थाको विधानअनुसार भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिको वरिष्ठ उपसभापतिमा कृष्ण गुरुङ तथा उपसभापतिमा विकास केसी र सुजन राज भट्ट चयन भएका छन् । त्यस्तै, महामन्त्रीमा सुशिल भण्डारी, सहमहामन्त्रीमा विवेक धमला र कोषाध्यक्षमा दिपेन्द्र दाहाल चयन भएका छन् । कार्यसमिति सदस्यमा सचिन सेन, सागर गुरुङ र चिरञ्जीवी सापकोटा निर्वाचित भएका छन् ।

अधिवेशनमा निवर्तमान सभापति सुधीर रानाले दुई कार्यकालको नेतृत्व अनुभव साझा गर्दै नवनिर्वाचित कार्यसमितिलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले संस्थालाई थप प्रभावकारी बनाउँदै लैजान नयाँ नेतृत्वलाई शुभकामना दिए ।

नवनिर्वाचित सभापति भण्डारीले फ्रान्सस्थित नेपाली समुदायको हकहित, एकता तथा लोकतान्त्रिक मूल्य-मान्यताको संरक्षणका लागि आफ्नो नेतृत्वको समिति प्रतिबद्ध भएर काम गर्ने बताए । सो अवसरमा उनले संस्थाको गरिमालाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धतासमेत व्यक्त गरे ।

अधिवेशनमा एनआरएनए फ्रान्सका पूर्वमहासचिव तथा नेपाली जनसम्पर्क समिति फ्रान्सका पूर्वमहामन्त्री कमलबिक्रम केसी, एनआरएनए फ्रान्सका पूर्वउपाध्यक्ष चेनभक्त ढुंगाना, वरिष्ठ पत्रकार दीपक चालिसे र संस्थापक कोषाध्यक्ष देविजङ्ग गुरुङलगायतको उपस्थिति थियो ।

निवर्तमान सभापति सुधीर रानाको सभापतित्वमा भएको उद्घाटन सत्र संस्थापक सभापति निर्मल अर्यालले दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।

केन्द्रीय निर्वाचन प्रतिनिधि ध्रुवराज पौडेल प्रमुख अतिथि तथा केन्द्रीय पर्यवेक्षक अंकील ओली विशिष्ट अतिथिका रूपमा सहभागी अधिवेशन निर्वाचन संयोजक सुवर्णविक्रम हमालको संयोजनमा निष्पक्ष, पारदर्शी र विधानसम्मत रूपमा सम्पन्न भएको जनाइएको छ ।

सम्बन्धित खबर

सिफारिस