नेकपा बहुमतद्वारा अखिल क्रान्तिकारीका पूर्व-महासचिव उषाकिरण आजादलाई कारबाही

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) का पूर्व महासचिव उषाकिरण आजादलाई पार्टीले सबै जिम्मेवारीबाट निष्काशन गरेको छ । पार्टीले मंगलबार जारी गरेको विज्ञप्तिमार्फत आजादलाई केन्द्रीय सदस्यसहित पार्टीका सबै जिम्मेवारीबाट हटाइएको जनाएको हो ।

पार्टीका अनुसार संगठनको विधि, पद्धति र अनुशासन उल्लंघन गरेको आरोपमा गत साउन १४ र १५ गते पोखरामा बसेको केन्द्रीय समिति बैठकबाट आजादमाथि छानबिन प्रक्रिया अघि बढाइएको थियो ।

छानबिनका क्रममा रहेका विषयलाई बेवास्ता गर्दै पार्टी तथा संगठनभित्र अनावश्यक भ्रम सिर्जना गर्ने र अनुशासन उल्लंघन हुने गतिविधि गरेको ठहर भएपछि उनलाई सबै जिम्मेवारीबाट हटाउने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष मण्डलका अध्यक्ष कञ्चनद्वारा जारी विज्ञप्तिमा आजादले पार्टीको विधि, पद्धति र अनुशासन पटक-पटक उल्लंघन गर्दै आएको आरोप लगाइएको छ । पछिल्लो घटनाक्रमका आधारमा उनलाई केन्द्रीय सदस्यसहित पार्टीका सबै जिम्मेवारीबाट निष्कासन गरिएको विज्ञप्तिमा जनाइएको छ ।

यसअघि अखिल (क्रान्तिकारी) को २०८३ असार ९ र १० गते बसेको सचिवालय बैठकले संगठनलाई आयोजक समितिमा रूपान्तरण गर्ने निर्णय गरेको थियो । सोही बैठकले संगठनविरोधी गतिविधि गरेको आरोपमा पूर्व महासचिव आजादलाई जिम्मेवारीबाट निलम्बन गरेको बताइएको छ ।

सम्बन्धित खबर

सिफारिस